चीनबाट एकैदिन ४४ लाख डोज भेरोसेल खोप ल्याइँदै

लोकखबर
२९ भाद्र २०७८, मंगलवार १५:३७

मकवानपुर । भदौ ३१ गते चीनबाट ४४ लाख डोज भेरोसेल खोप आउँदै छ। कोरोनाविरुद्धको खोप एकै पटक आउन लागेको यो खोप अहिलेसम्मकै धेरै हो।
एकै दिनमा दुई वटा विमानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले बताए।
यसअघि आउने भेरोसेल खोप एक डोजको एक भाइल हुने भए पनि अब आउन लागेको भेरोसेल खोप पाँच डोजको एक भाइल हुन्छ। त्यसैले यो खोप सकेसम्म एक खेपमा र नभए पनि दुई खेपमा गरी सबै खोप शुक्रबारै ल्याउने तयारी गरेको सचिव पोखरेलको भनाइ छ।
सचिव पोखरेलले भने, ‘खोप १६ सेप्टेम्बरसम्म आइपुग्छ होला, ढिलोमा शुक्रबारसम्म त खोप नेपाल आइपुग्छ। त्यसपछि प्राथमिकता तय गरेर खोप अभियान शुरु गर्नेछौं।’
थप ३ लाख डोज खोप नेपाली सेनाका लागि भनेर छुट्टै आउन लागेको सचिव डा। पोखरेलले बताए। उनका अनुसार सेनालाई दिने भनिएको खोप आउने नआउने निश्चित नभए पनि ४४ लाख खोप भने आउने पक्का भइसकेको बताए।
सरकारले पछिल्लोपटक चीन सरकारसँग ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो ​। जसमध्ये १६ लाख डोज आइसकेको छ भने बाँकी ४४ लाख डोज खोप ल्याउन लागिएको हो।
हालसम्म नेपालमा भारतबाट कोभिसिल्ड २४ लाख ४८ हजार डोज, चीनबाट विभिन्न चरणमा ७४ लाख डोज भेरोसेल, अमेरिकाबाट १६ लाख जोन्सन एन्ड जोन्सन, जापानबाट १७ लाख ७७ हजार ३ सय २० डोज अस्ट्राजेनिका खोप आएको छ।
आगामी असोजमा गाभीमार्फत १ लाख डोज फाइजर खोप आउने बताइएको छ। जसको लागि फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा रेफ्रिजेरेटर कोभ्याक्स अन्तर्गत युनिसेफले दिइसकेको छ।
यही बर्षको अन्तिमसम्ममा बालबालिकालाई लगाउन मिल्ने ६० लाख फाइजर र ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने बताइएको छ।थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*