वीरगन्ज आइपुग्यो निजी भारतीय कार्गो रेल, नेपालको १२ वर्षदेखिको माग पूरा

लोकखबर
३० भाद्र २०७८, बुधबार १४:०८

मकवानपुर । रेल सम्झौता संशोधनपछि पहिलोपटक नेपालमा निजी कार्गो रेल आइपुगेको छ।
आज भारतबाट सामान बोकेर वीरगन्जमा भारतीय निजी रेल आइपुगेको हो।
कोलकाताको हल्दिया पोर्टबाट सोमबार हिँडेको रेल आज बिहान ९ बजे वीरगन्ज आइपुगेको हो।
योभन्दा अघिसम्म भारतको सरकारी तथा संस्थानका रेल मात्रै नेपाल आउने गरेका थिए। हिन्द टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल ९० वटा कन्टेनर बोकेर नेपाल आइपुगेको हो।
असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधनको लागि नेपाल–भारत एलओई ९लेटर अफ एक्स्चेन्ज० सम्पन्न भएपछि निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो।
सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।
सम्झौता संशोधनसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो रेल अपरेटरहरुले अब नेपालको पारवहनका लागि हुने ढुवानीका सेवा दिन सक्नेछन्।
भारतीय रेल सेवामा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर तथा वागनहरु नेपालको लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ।
त्यस्तै निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपालमा लक्षित ढुवानी हुनेछ।
अब नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता, हल्दियासम्म रेल सेवा दिन सक्नेछ। आज आइपुगेको कार्गो यसैको उदाहरण हो।
साथै नेपालले अहिले वीरगन्जसम्म रेलसेवा उपलब्ध भएकोमा विराटनर भैरहवा, इनरुवामा रेल पूर्वाधार तयार भएपश्चात् रेल सेवा उपलब्ध गराउन माग गरेको थियो। नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने उल्लेख छ।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*