भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको आग्रह

लोकखबर
२०७८ आश्विन १, शुक्रबार १०:४९

मकवानपुर । त्रिभुवन विश्वविद्यालयले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई आग्रह गरेको छ।
त्रिवि कार्यकारी परिषद्को बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए।
बिहीबारमात्रै काठमाडौं जिल्ला प्रशासनले असोज १ गतेदेखि स्कुल नखोल्न निर्देशन जारी गरेको बेला त्रिविले भने सम्भव भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न आग्रह गरेको हो।काठमाडौं उपत्यकाका निजी स्कुल सञ्चालकहरुले शुक्रबारदेखि स्कुल सञ्चालन गर्ने तयारी गरेका थिए। सोहीअनुसार स्कुलहरुले अभिभावक तथा विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने सूचित गरेका थिए। तर, त्यसको पूर्वसन्ध्यामा काठमाडौं जिल्ला प्रशासनले असोज १ देखि स्कुल नखोल्न निर्देशन दिएपछि स्कुल सञ्चालकहरु अन्योलमा परेका छन्।
काठमाडौँ प्रशासनले सूचना नै जारी गर्दै यदि सञ्चालक समिति र अभिभावकहरुको निर्णयबाट स्कुल खोल्ने नै हो भने जिल्ला कोभिड समन्वय समितिसँग समन्वय गरेर सबै मापदण्डहरु पालना गरेरमात्र खोल्न सकिने जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो।
बन्दाबन्दीमा त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो। विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पस, विभाग र स्कुललाई अनुरोध गरिएको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख दाहालले बताए। खबरब्रेक डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको