बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माद्वारा संविधान दिवसमा सम्बोधन :

‘संविधानले सुशासन, विकास समृद्दिको आकांक्षा पूरा गर्दैछ ।’
लोकखबर
२०७८ आश्विन ३, आईतवार १२:१७

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिदै सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य भएको दिनका रुपमा आज असोज ३ गते संविधान दिवसको ऐतिहासिक महत्व भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडामा आयोजना गरेको संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति,सुशासन, विकास समृद्दिको आकांक्षा पूरा गर्न संविधान कार्यान्वयन भइरहेको बताए ।

प्रमुख शर्माले सार्वभौम र स्वतन्त्र मुलुकका रुपमा नेपाली जनताले संविधान पाएको आजको ऐतिहासिक दिनलाई गौरवान्वित महसुस गर्दै राष्ट्रिय पर्वका रूपमा मनार्ईएको बताए । उनले संविधानले परिकल्पना गरेको समाजवादतर्फ उन्मुख अर्थतन्त्र, सामाजिक न्यायमा आधारित समतामूलक समाजको लागि प्रदेशमा रहेका अथाह प्राकृतिक स्रोतसाधन, पूर्वाधार, पर्यटन,साँस्कृतिक सम्पदा र विविधता तथा मानवस्रोतको भरपुर उपयोग गरी प्रदेशलाई समृद्द बनाउन सकिने विश्वास पनि व्यक्त गरे । ‘संघीयताको भावना र मर्मलाई आत्मसात गर्दै अघि बढेमा संघीयता प्रतिको जनविश्वास थप कायम भई सुखी नेपाली र समृद्द नेपालको लक्ष्य प्राप्तिका लागि सहयोग पुग्ने अपेक्षा गरेको छु । ’ प्रदेश प्रमुख शर्माले अहिले कोरोना भाइरस कोभिडबाट सुरक्षित रहदै संविधान दिवस मनाउँन अपील गर्दै भने,‘ संविधानले परिकल्पना गरेको महान लक्ष्य, लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित,एकता र समृद्दितर्फ मन, बचन र कर्मले दत्तचित्त भई लाग्न यस प्रदेशका सम्पूर्ण दिदीबहिनी, दाजुभाईहरु तथा सम्पूर्ण नेपालीहरुमा शुभेक्षा प्रकट गर्दै माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाउन र सुरक्षीत तवरले यो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन प्रदेशबासीमा अपील गर्दछु ।’

प्रमुख शर्माले आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने नेपाल आमाका वीर शहिद सन्तानप्रति गहिरो सम्मान प्रकट गर्दै श्रद्धान्जली अर्पण गरे ।

प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि संविधान दिवसका अवसरमा शुभकामना दिदैं प्रदेशको समतामूलक विकासका लागि सरकार अघि बढिरहेको बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेश सरकारले ‘शुसासन तथा समाजवाद उन्मुख कार्यक्रम’ ल्याउने जानकारी दिइन् । मुख्यमन्त्री शाक्यले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकोले यसै अनुसार काम गर्न लागिएको बताइन् । ‘ऐतिहासिक जननिर्वाचित संविधानसभावाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको महत्वपूर्ण दिनको सम्मान स्वरुप आज संविधान दिवस र राष्ट्रिय दिवस मनाइएको हो । ’ उनले भनिन्, ‘हाम्रो देश समाजिक एकता आपसी सद्भाव र सहिष्णुतामा आधारित छ । मुलुकको समृद्धिका लागि नेपाल सरकारले लिएको समृद्द नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अनुरुप बागमती प्रदेशको दिर्घकालीन सोच ‘स्वस्थ, सुसंसकृत र सुखी जनता, समाजवाद उन्मुख समृद्द प्रदेश’ लाई पूरा गर्न आजको दिन महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।’

मुख्यमन्त्री शाक्यले समाजिक, आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंग र आमनागरिक समेत क्रियाशील हुनुपर्ने बताइन् । साथै मुख्यमन्त्री शाक्यले आजको दिनले बागमती प्रदेशवासीलाई नेपालको संविधानका मूल्य र मान्यताहरु आत्मसाथ गरी अघि बढ्दै संविधानको पूर्ण पालना गर्न आफुहरु प्रतिबद्द रहेको बताइन् । ‘महिला सहितको समानुपातिक समावेशीको माध्यमबाट संघ, प्रदेश र स्थानीय तहको सहमति, सहकार्य र सहअस्तीत्वलाई अंगाल्दै समृद्दि प्राप्त गर्नेतर्फ हामी आगाडी वढेका छौं ।’ मुख्यमन्त्री शाक्यले भनिन् ।

समारोहमा बागमती प्रदेशका मन्त्री, राज्यमन्त्री, सांसद, मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी लगायतकाको उपस्थित रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको