न्यायपालिकालाई थप क्षति पुग्न नदिन समयमा नै समाधान खोजिनुपर्छः न्यायाधीश समाज
काठमाडौँ । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्यको समाधान गर्नुपर्ने जनाएको छ ।न्यायाधीश समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ति जारी गर्दै न्यायपालिकामा गरिएको राजनीतिक भागबन्डा र प्रभाव नै रहेको ठहर गरेका छन् ।
विज्ञप्तिमा न्यायिक स्वतन्त्रता, निष्पक्षता जस्ता कुरा निरपेक्ष रुपमा स्वतः अवतरण नहुने उल्लेख छ । लामो अवधि न्यायिक कार्यमा समर्पित रहेका पूर्वन्यायाधीशहरु, कानुन व्यवसायीहरु, आमसञ्चारलगायत समाजका विभिन्न क्षेत्रका प्रबुद्ध वर्गमा अहिले देखा परेको न्यायालयप्रतिको चिन्ता र चासो स्वाभाविक भएको समाजले प्रष्ट पारेको छ ।
समाजका उपाध्यक्ष रेग्मीले जारी सोमबार जारी गररेको विज्ञप्तिमा लेखिएको छ,“न्यायपालिका उपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबन्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सञ्जाल र आमसञ्चारमार्फत् सार्वजनिक हुन दुःखद विषय हो । यस्ता कुरामा संवेदनशील र गम्भीर हुनुपर्दछ । वास्तविकता के हो भन्ने कुरा छानबिन पश्चात एकिन हुन सक्दछ ।”
सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य–तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तिजनक कार्य मान्नुपर्ने भन्दै विज्ञप्तिमा लेखिएको छ,“यस्ता कुराहरुलाई लामो समयसम्म कुनै निकास नदिइ त्यत्तिकै राख्दा न्यायपालिकालाई थप क्षति पुग्न सक्ने हुँदा यस्ता कुराको समयमा नै समाधान खोजिनुपर्छ ।”
न्यायपालिका स्वभावैले स्थायी र स्थिर प्रकृतिको संस्था भएकाले यसलाई आग्रह वा पूर्वाग्रहका आधारमा प्रयोग र परीक्षणको विषय बनाउनु कोही कसैको हितमा नहुने विज्ञप्तिमा उल्लेख छ ।











































