अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै होः प्रधानमन्त्री देउवा

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १४:०४

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे ।

नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित सरकारी निवासमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पारे ।

उनले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्छ मलाई । अरुकुरा धेरै केही भन्नु छैन तपाईँहरुलाई । हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्–न्यायालय सम्बन्धमा, सरसल्लाह छलफल गर्नेछौँ । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको