को हुन् मुख्यमन्त्रीमा पाण्डे ?

लोकखबर
२०७८ कार्तिक ११, बिहीबार १६:३२

मकवानपुर । राजेन्द्रप्रसाद पाण्डे एमाले विभाजन भई बनेको एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् । एमालेमा रहँदा माधवकुमार नेपाल निकट रहेका उनी आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएको बताउँछन् । विद्यार्थी बेलामै पसेको राजनीतिक चेतले आफूलाई कम्युनिष्ट बनाएको बताउने पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुअघि उनले शिक्षण पेसा अंगालेका थिए ।

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए । उनीसंग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ ।

पाण्डे नेकपा एमालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति, २०५० मा एमालेको अञ्चल सचिव, २०५५ पार्टीको केन्द्रीय सदस्यको भूमिकामा थिए । उनी राजनीतिक आन्दोलनका क्रममा २०३३ मा ४२ दिन जेल परेका थिए । सो क्रममा उनी पार्टीको जेल कमिटीको सदस्यसमेत बनेका थिए । उनी झापा आन्दोलनमा पनि सक्रिय भएर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

उनलाई २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो । पाण्डेसँग २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्व गरेको अनुभव छ ।

एमालेका तर्फबाट धादिङ क्षेत्र १ बाट विजयी बनेका राजेन्द्रप्रसाद पाण्डे बाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् । प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

बाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरिए पनि औपचारिक रूपमा नेताहरूबाट पुष्टि हुने गरी भने बताइएको छैन । प्रदेश सरकार गठनका लागि आवश्यक ५५ बढी सांसदको समर्थन आवश्यक पर्नेमा गठबन्धनका तर्फबाट ५९ जना सांसदले साथ दिएपछि पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको