बागमतीमा आज दुई मन्त्री थपिदै, जम्मकट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री बन्ने
मकवानपुर । बाग्मती प्रदेश सरकार आज विस्तार हुने भएको छ । स्रोतका अनुसार आज जम्मा दुई जना मन्त्री थप गर्ने तयारी रहेको बुझिएको छ ।
एकीकृत समाजवादीले नेतृत्व लिएको बागमती सरकारमा आज थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेसबाट निमा लामा रहने स्रोतको भनाई छ ।
पाण्डे नेतृत्वको सरकारमा यसअघि नै आन्तरिक मामिला तथा कानून मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्ण भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानले सपथ लिइसकेका छन् ।
११ कात्तिकमा सपथ लिएका मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा गठबन्धनका ५९ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने तयारी भएपनि गठबन्धनभित्र मन्त्री बनाउने विषयमा विवाद भएको थियो ।
बागमतीमा हाल १०९ सांसद सदस्य रहेकोमा संविधान अनुसार कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री विस्तार गर्न सकिने भएकाले मन्त्रालय विभाजन गरेरै भएपनि २२ सदस्यीय सम्म मन्त्री बनाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेको छ । तर अहिले दुई जना मन्त्रीमात्रै थप गर्ने र केही समयपछि नै गठबन्धनभित्र सहमती गराई अरु मन्त्री थप गर्ने तयारी भएको बताइएको छ । स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गरेर १३ मन्त्री र तीन राज्यमन्त्री बनाउने तयारी गरेका छन् ।
तत्कालै मन्त्री बन्नेको नाम गठबन्धनका माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले टुंगो लगाउन नसकेपछि अहिले सहमती जुटेको दुई जनालाई मन्त्री नियुक्त गर्दै सरकार सञ्चालन गर्ने पाण्डेको योजना देखिन्छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम बागमतीमा सरकार निर्माण भएको हो ।
बागमतीमा ४३ सांसद रहेको एमाले भने अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ । प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद रहेका छन् ।











































