एमाले महाधिवेशनमा मकवानपुरबाट ३५ हजार जना चितवन जाने

लोकखबर
९ मंसिर २०७८, बिहीबार १२:२५

मकवानपुर । भोलि १० मंशिरबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेशका करिब २ लाख ५० हजार जना सहभागी हुने भएका छन् ।

महाधिवेशन स्थलमा मकवानपुरबाट मात्रै ३५ हजार जनाको सहभागिता रहने जनाइएको छ ।

यस्तै, काठमाडौं उपत्यकाबाट ५५ हजार, काठमाडौं विशेषबाट ५० हजार, चितवनबाट ७५ हजार, नुवाकोटबाट ८ हजार, सिन्धुपाल्चोबाट ८ हजार, धादिङबाट १५ हजार, दोलखाबाट दुई हजार, रामेछापबाट दुई हजार, सिन्धुलीबाट पन्ध्र हजार र रसुवाबाट पाँच सय जनाको सहभागिता रहने एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोख्रेलले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट पाँच लाख उतार्ने तयारी रहेकोमा करिब आधा मानिस बागमती प्रदेशबाट सहभागी हुने अध्यक्ष पोख्रेलले बताए । ‘बागमती प्रदेशका विभिन्न जिल्ला, काठमाडौं उपत्यका लगायतबाट गरी साँढे दुई लाखदेखि तीन जनासम्मको महाधिवेशन उद्घाटन समारोहमा सहभागिता रहनेछ । ’ अध्यक्ष पोख्रेलले भने,‘देशभरबाट हुने सहभागीमध्ये बागमती प्रदेशबाट आधा मानिस महाधिवेशनमा आउँनेछन् ।

देशभरबाट २ हजार ९ सय ९७ जना महाधिवेशनमा भोट हाल्ने प्रतिनिधी चयन भएकोमा बागमती प्रदेशका ३ सय ३२ जना रहने छन् । यसमा मजदुर संगठनबाट ५ जना, जिफन्टबाट ९६ जना, विद्यार्थीबाट ५ जना, युवा संघबाट ८ जना, उपत्यका विशेषबाट ५ जना, बागमती सम्पर्क मञ्चबाट ६ जना समेत प्रतिनिधी रहनेछन् ।

यसैबिच, चितवनमा हुने राष्ट्रिय महाधिवेशनका कारण सार्वजनिक सवारी अभाव खड्किएको छ । देशभरमा बस, सुमो लगायतका सार्वजनिक सवारी करिब ४ हजार रहेकोमा करिब ६ हजार महाधिवेशनका लागि आवश्यक पर्ने अनुमान छ । यसमा करिब दुई हजार वटा नीजि सवारी साधन प्रयोग गरिने भएका छन् । प्राय : सवारी साधन महाधिवेशनका लागि एमालेले बुक गरेकाले सवारी साधन अभाव भएको यातायात व्यवसायीको भनाई छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*