सर्वोच्चमा अगामी १५ गतेबाट गोलाप्रथा लागू गर्ने बैठकको निर्णय

लोकखबर
९ मंसिर २०७८, बिहीबार १६:५२

काठमाडौं । सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रथा विधिबाट मुद्दाको पेसी तोकिने भएको छ । आज ९बिहिबार० बसेको अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले करिब एक सातको समय राखेर गोलाप्रथा विधिबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार, अपराह्न बसेको सो बैठकले मंसिर १५ गतेसम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो । संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने उनको भनाई छ ।

बैठकले प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठ न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उभिएका असन्तुष्ट न्यायाधीशहरुले तीन सातापछि गत बुधबार फुलकोर्ट बैठक राखेर गोलाप्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो ।

तत्कालीन नियमावलीमा प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा नियमावली संशोधन गरी पेसी व्यवस्थापन निर्देशन समितिले गोलाप्रथा विधिबाट पेसी तोक्ने व्यवस्था गरिएको थियो । तर, गोलाप्रक्रियाका लागि केही प्राविधिक कठिनाई हुने त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले मंसिर १५ गतेबाट लागू गर्ने गरी गोलाप्रक्रियाको मिति तोकिएको सूचना अधिकारी ढकालले बताए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*