एमाले महाधिवेशनः ओली जी राष्ट्रियताका प्रतीक हुन्ः राप्रपा अध्यक्ष थापा

लोकखबर
२०७८ मंसिर १०, शुक्रबार १५:०१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन् ।

चितवनको भरतपुरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै थापाले देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताए ।

राप्रपा अध्यक्ष थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै उनले विप्लव र सिके राउतलाई राष्ट्रिय मूल धारमा ल्याएको भन्दै ओलीको प्रशंसा गरे ।

थापाले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको बताउँदै यो महाधिवेशनलाई देश विदेशका शक्तिहरुले उत्सुकताका साथ हेरिरहेको उल्लेख गरे ।

अध्यक्ष थापाले २०६३ सालको राजनीतिक परिवर्तन पछि दिगो शान्तिको लक्ष स्थायित्व र समृद्धिको बोकेर राजनीतिक यात्रा सुरु गरेपनि हिजो कहाँ पुग्ने भनेर हिँडेको र आज कहाँ आइपुगेका छौं भन्ने प्रश्नलाई महाधिवेशनका प्रतिनिधिहरुले गम्भीर रुपले समीक्षा गर्ने आशा लिएको बताए ।

थापाले ओलीको प्रशंसा गर्दै भने, ‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पर्‍याउन सक्नेछ ।’

ओलीसँग एउटै सरकारमा रहेर केही समय काम गर्ने अवसर पाएको बताउँदै त्यसबेला भारतीय नाकाबन्दीले देशले कष्ट भोगेको स्मरण गरे । उनले ओलीले सुझबुझ र मार्गदर्शनमा रहेर राष्ट्रिय स्वाभिमानमा एक इञ्च प्रभाव नपर्ने गरी नाकाबन्दी समाधान गर्न सकेको बताए । यस्तै चीनसँग पनि रेल, तेल लगायतका विषयमा सम्बन्ध बनाउन सकेको बताए । उनले ओली नेतृत्वको पछिल्लो सरकारबाट भने आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरे ।

राप्रपा नेता थापाले देश अहिले संकटको भूमरीमा परेको बताउँदै लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको संकेत पाइरहेको बताए । थापाले भने, ‘योजनाबद्ध र संगठितरुपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरुको सनातन धार्मिक–सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालको इतिहासमा अहिले भष्टाचार व्यापक मात्रामा भइरहेको छ ।’

देशभित्र सामान्य जागिर पाउन नसकेकाले ४० लाख युवाहरु मलेसिया र अरबमा रगत पसिना बगाउन बाध्य भएको थापाले उल्लेख गरे । साथै देशमा बाह्य शक्तिहरूको प्रभाव र चलखेल बढेर गएको बताउँदै बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बन्न खोजेको दाबी गरे । यसका लागि महाधिवेशनबाट देशका लागि साहसिक निर्णयको अपेक्षा गरिरहेको उल्लेख गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको