आज ओलीसहित पाँच नेताको छुट्टै बैठकः पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

लोकखबर
२०७८ मंसिर १२, आईतवार १२:१६

सौराहा । नेकपा एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ । सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी शर्मा ओली जुटेका छन् ।

अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ । बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने भएको छ । सोही सूचीलाई अध्यक्ष ओलीले बन्दसत्र हलमा सार्वजनिक गर्ने तयारी छ ।

शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेका थिए । ओलीले नेताहरूको कुरा मात्र सुनेको तर कुनै प्रतिक्रिया नसोधेको एक नेताले बताए ।

महाधिवेशनका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा गरिएको छ । बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ । जसमा पार्टीका उपाध्यक्ष डा.भीम रावलले फरक मत राखेका छन् । ओलीलाई एकलौटी अधिकार दिइएको र आफूले त्यो निर्णय नमान्ने उनको भनाई छ ।

प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने उनले बताएका छन् । शनिबारबाट नै रावलले महाधिवेशनमा सहभागी प्रतिनिधिलाई अध्यक्ष पदको लागि मत माग्न थालिसकेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको