आश्रमको आय व्याय विवरण सार्वजनिक, भोजन जुटाउन भजन सन्ध्या आयोजना हुने

लोकखबर
१४ मंसिर २०७८, मंगलवार २०:०४

मकवानपुर । हेटौंडा ९ स्थित मानवसेवा आश्रमले आर्थिक बर्ष २०७७।०७८ को प्रगति प्रतिवेदन एवं आय व्यय सार्वजनिक गरेको छ । मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रममा विवरण सार्वजनिक गरिएको हो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सञ्चालन गरेको कार्यक्रममा आश्रमका प्रवक्ता सुमन बर्तौलाले प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । यस्तै आर्थिक प्रगति प्रतिवेदन संस्थाका लेखापाल अस्मिन गौतमले गरेका थिए ।

२०६९ साल भाद्र १३ गते मकवानपुर, हेटौंडाबाट सुरुवात भएको मानवसेवा आश्रमले हालसम्म ६२७५ जनाको सेवा गरेको छ । जसमध्ये २४२५ जनाको पारिवारिक पुनर्मिलन गर्दा १६६७ जना उपचार पश्चात स्वेच्छाले आश्रमबाट जानुभएको ११६७ जना, आश्रमको संरक्षणमा रहँदा निधन भएका ६३४ जना र सामुदायिक पुनस्र्थापना गरिएका ३५४ जना रहेका छन् ।

हाल सात प्रदेशको १६ जिल्लाको २२ स्थानमा सेवाकेन्द्र रहेको मानवसेवा आश्रमको संरक्षणमा १५६७ जना विभिन्न उमेर समूहका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरु रहेको अध्यक्ष अधिकारीले बताए । यस्तै झापा जिल्लामा शाखा विस्तारको अन्तिम तयारी भइरहेको समेत जानकारी दिए ।

हेटौंडामा रहेको मुख्य कार्यालयको सन्दर्भमा भने १३५५ जना व्यक्तिलाई सेवा प्रदान गरेको रेकर्ड छ । त्यस्तै पारिवारिक पुनर्मिलन हुनेको संख्या ७३६ जना, उपचार पश्चात स्वेच्छाले जानेको संख्या ३३६ जना, आश्रमको संरक्षणमा रहँदा निधन भएको १४७ जना, सामुदायिक पुनस्र्थापना हुनेको संख्या ४३ जना छ ।

हाल लामसुरेधापमा रहेको आश्रममा आश्रितको संख्या १६९ जना छ । साथै आश्रमको आर्थिक बर्ष २०७७।०७८ मा कुल आय २३ करोड ९६ लाख ७९ हजार ३९५ रहेको छ । आर्थिक बर्ष २०७६।०७७ मा आश्रमको कुल आय १० करोड ९२ लाख ३५ हजार २ सय ३९ रहेको थियो ।

सेवा खर्च तर्फ भने कुल व्यय ११ करोड १८ लाख २१ हजार १ सय ७४ रहेको छ । असहायको भोजनका लागि भजन सन्ध्या
मानवसेवा आश्रमले मानवसेवा आश्रमको मुख्य कार्यालयमा आश्रित सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको नियमित भोजनको व्यवस्थापनका लागि मङ्सिर १५ गते भजन सन्ध्या कार्यक्रम गर्दै छ ।

बर्षको ३६५ दिनको नै भोजनको व्यवस्थापनका लागि दाताहरु जुटाउन आश्रमले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

असहायको भोजनको लागि भजन सन्ध्या कार्यक्रममा भजन सम्राट रेशम सापकोटा एवं तरेली संगीत कुञ्ज परिवारको उपस्थिति रहने छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*