कांग्रेस बागमती प्रदेश अधिवेशन : मध्यरातमा मतदान सकियो, २०८३ जनाले हाले भोट
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेसको बागमती प्रदेश समितिको लागि भएको निर्वाचनमा २ हजार ८३ जना प्रतिनिधीले मतदान गरेका छन् ।
अधिवेशनका लागि प्रदेशका विभिन्न १३ जिल्लाबाट २ हजार एक सय ५० जना प्रतिनिधी छानिएपनि शनिबार मध्यराती सकिएको चुनावमा ६७ जना अनुपस्थित भएको पाइएको छ ।
पार्टी प्रदेश समितिको सभापति पदमा भीमसेन दास प्रधान, जगदीश नरसिंह केसी र इन्द्रबहादुर बानियाँको प्रतिष्पर्धा छ । पार्टीको उपसभापतिमा ४ जना, महामन्त्रीमा ६ जना, सहमहामन्त्री महिलातर्फ ३ जना र खुलातर्फ ७ जनाका बीच प्रतिष्पर्धा भएको छ ।
चुनाव सकिएपछि मध्यराती साँढे १२ बजेबाट मतगणना भइरहेको छ । चुनावमा कसले जित हासिल गर्लान् भन्ने विभिन्न अड्कलबाजी भएका छन् । पार्टीको संस्थापन पक्षबाट बानियाँ, संस्थापन इतरका केसी र नेता कृष्णप्रसाद सिटौला निकट प्रधानका बीच सभापति पदमा भएको चुनावलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बानियाको गृहजिल्ला मकवानपुरमा भएको अधिवेशनले बानियाँलाई जिताउला वा केसी र प्रधानमध्ये एकले कसले जित्लान् भन्नेमा अड्कल भएका छन् ।
यसैबिच, हेटौंडामा भइरहेको कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा)का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ पनि प्रतिनिधी बनेर आई भोट हालेको खुलेको छ ।
बागमती प्रदेशसभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राती ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा सुटुक्क पुगी भोट हालेको खुलेको छ । यो कुरा तामाङ आफैंले पनि स्वीकार गरेका छन् । उनी बागमती प्रदेशसभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् ।











































