नेपालमा मेवा खेती गर्ने प्रचलन वृद्धि

लोकखबर
२८ पुष २०७८, बुधबार १५:१४

नेपालमा अहिले व्यावसायिक मेवा खेती गर्ने प्रचलन वृद्धि हुदै गएको छ । खासगरी चितवनमा व्यावसायिक मेवा खेती गर्ने किसानको संख्या वृद्धि हुँदै आएको छ । आज भोली किसानदेखि अध्ययन रत रहेका युवा तथा महिला समूह व्यावसायीक मेवा खेतीमा लागेका छन। त्यस्तै चितवनमा वन विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेका गुल्मीका २५ वर्षीय सुशनसिंह के.सी.ले व्यावसायिक मेवा खेतिमा लागेका छ्न । विषयअनुसार उनी कुनै वन संरक्षण क्षेत्रमा जुट्नु पर्ने हो तर मेवा खेतीमा लागेका छन् ।

क्.सी.ले भन्छन् म सुरुको लगानीबाट पच्चीस लाख एक बर्षमा उठाउन सफल भएको छु । गुल्मी मदाने गाउँपालिका–७ का सुशन अहिले भरतपुर–१८ गुञ्जनगरस्थित कृषि फार्ममा व्यस्त भेटिन्छन् । त्यहाँ तीन बिघा जमिन भाडामा लिएर उनले ४ जना साथीहरूसँग मिलेर मेवा खेती गरिरहेका छन् ।

‘मैले जे विषय पढें, त्यो अनुसार सरकारी जागिर वा संघ-संस्थामा काम पाउन खासै गाह्रो छ्रन् तर, त्यता ध्यान गएन,’ सुशनको भनाई छ । सुशनका मामा गणेश भुषालले पश्चिम चितवनमा २० बिघा जमिनमा तरकारीसहित मेवा खेती गरिरहेका छन् । मामाको खेतबारी देखेपछि उनी पनि यता लागेका हुन् । उनका बाबु, दिदीहरूले सरकारी जागिर नखाएका हैनन् तर सानैदेखि केही फरक गर्ने सोच बनाएका उनले खेती रोजेका हुन् ।‘मेवा घरगाउँ जताततै फलेको हुन्छ, खाने गरिन्छ । तर व्यावसायिक रूपमा खपत हुने मेवा ठूलो परिमाणमा भारतबाट आउने गरेको छ । देशभित्रै उत्पादन बढाए खपत पनि हुने देखेर यता लागेको हो,’ सुशनले भने । उनका अन्य साथीहरू जागिर र व्यवसायमा छन् । मेवाको बजार खोज्ने जिम्मा उनीहरूको छ । उत्पादनका लागि फिल्डमा सुशन धेरै खट्छन् ।

खेतीमा संलग्न उनीहरू २५ देखि ३५ वर्ष बीचका छन्। प्रत्येकले ५र५ लाख रुपैयाँ जुटाएर खेती सुरु गरेका थिए । गत फागुनमा ताइवानबाट बीउ ल्याएर रोपेका थिए । दसैंपछि फल टिपेर बेच्न सुरु भएको छ । होचा रुखमा लटरम्म फलहरू लागेका छन् । सुरुवाती बिक्रीले उत्साह दिएको सुशनले बताए । एउटा रुखले बढीमा दुई वर्षसम्म उत्पादन दिन्छ । तर फलको अवस्था हेरेर एकै वर्षमा फेर्ने योजना रहेको उनले सुनाए। उनका अनुसार दसैंयता ६ टन मेवा बिक्री भइसकेको छ । चैतसम्म ४० टन फल्ने आशा उनीहरूको छ । अहिले उनी मेवा फर्ममा भेटिन्छ्न। मेवाको स्यारसुसारदेखि बिक्रीवितरणमा लागेको उनी बताउँछन्।

‘८० रुपैयाँ किलोमा बिक्री सुरु भएको थियो । यो भनेको राम्रो मूल्य हो तर सधैं यस्तो हुँदैन । भारतीय मेवा आउन सुरु भएपछि मूल्य धेरै नै तल जान्छ । बिक्री भइराखेमा लगानी अनुरूपको आर्जन लिन गाह्रो छैन,’ सुशनले भने । उनका अनुसार भारतीय मेवा निकै सस्तो मूल्यमा नेपाल भित्रिन्छ । तुलनात्मक रूपमा स्वाद उत्कृष्ट नभए पनि हेर्दा राम्रो देखिने र सस्तो हुने भएका कारण व्यापारीले भारतीय मेवा नै रोज्ने गर्छन् ।

‘भारतीय मेवा हुँदाहुँदै नेपालको मेवा लिन नसकिने व्यापारीले बताएका थिए । हामीले खेतीको सुरुवातदेखि फल टिप्दासम्मको सवै विवरण भएको भिडियो देखाएपछि उनीहरूले ‘ल्याउनु न कटेसम्म राख्छौं’ भने । त्यसरी पठाएको मेवा बिक्री भएर नै होला मगाइरहनु भएको छ,’ सुशनले भने । नेपालमा मेवा खेती ठूलो परीमाणमा हुन सकेको छैन । मिहिनेत र लागत अनुरूपको मूल्य आए यसमा अरू आकर्षित हुने उनले देखेका छन् ।

‘यसमा सरकारले सहयोग गर्नु पर्छ । सरकारी सहयोग भनेको अनुदान मात्र हैन । बजार निश्चित गर्ने हो । नेपाली मेवाको फाइदाका बारेमा प्रचार गर्ने, बिक्री हुने वातावरण, योजना र नीति सरकारले बनाए फलाउने, मिहिनेत गर्ने काम हामी किसानहरूले गरिहाल्छौं । मूल्य पाए, बिक्री भए खेती जसले नि गर्छ, मात्र हामीलाई साथ र हौसला चाहिएको छ,’ सुशनले भने । भाइरस र ढुसीसँग सम्बन्धित रोगको समस्या मेवा खेतीमा छ । समस्याहरू व्यवस्थापन गर्दै खेती विस्तार गर्दै लैजाने योजना उनीहरूको छ ।

स्रोतः कृषि प्रेस

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *