हेटौंडा १४ नं. वडा कार्यालय अब आफ्नै भवनमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको मंगलबार हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् । करिब ४ वर्षदेखि घर भाडामा लिएर वडा कार्यालय संचालन गर्दै आएको थियो । मंगलबारदेखि आफ्नै भवनमा वडा कार्यालय सरेको हो ।
मेयर महतले वडा कार्यालयसँगै स्वास्थ्य चौकीको पनि उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको ४५ लाख बजेटमा ४ कोठा भवन भएको स्वास्थ्यचौकी र ६३ लाखमा निर्माण भएको ५ कोठे भवन निर्माण गरिएको हो । स्वास्थ्यचौकीमा हेल्थपोष्टमा हुने विभिन्न किसिमका उपचार गर्भवती सेवा, खोप, भिटामिन, स्वास्थ्योपचार, दादुरा र रुबेला खोपलगायत नेपाल सरकारले वितरण गर्ने सम्पूर्ण सेवाहरु उपलब्ध रहेको स्वास्थ्यकर्मी अंशुु लामाले बताइन् ।
नयाँ भवन उद्घाटन गर्दै मेयर महतले व्यवस्थितढंगले वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण गरिएकोमा वडा अध्यक्षलाई धन्यबाद दिँदै वडा विकासका काममा उक्त वडा १ नम्बरमा रहेको बताए । उनले दीपक खड्का वडाध्यक्ष भएपछि वडाले काचुली फेरेको भन्दै स्थानीयलाई खड्काजस्तो वडाध्यक्ष पाउनु भाग्यमानी भएको विचार व्यक्त गरेका थिए । उनले जनप्रतिनिधिहरु निर्वाचनबाट निर्वाचित भएपछि कति करोडको विकास भयो भन्ने मूल्यांकन गर्न स्थानीयसग आग्रह गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष खड्काले वडामा कुनै पनि विवादित काम नभएको बताए । उनले आफू निर्वाचित भएपछि वडामा धेरै विकासका कामहरु भएको भन्दै आगामी दिनमा पनि राम्रो काम गर्ने बताए । वडामा रहेर उत्कृष्ट कार्य गरेर वडाको नाम राख्न योगदान पुर्याएका ज्येष्ठ नागरिक, बक्सिङ, भलिबल र फुटबल खेलाडी, प्रशिक्षक, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कानुन व्यवसायी, चित्रकला, उपभोक्ता समिति, समाजसेवीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वडाबासी २ जनालाई मेसिन दुई थान र ३ मजदुरलाई साबेल र जाली सहयोग गरिएको थियो ।











































