सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैनः स्वास्थ्यमन्त्री खतिवडा

लोकखबर
२९ पुष २०७८, बिहीबार १७:०१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । उनले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

“सुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्यौँ । जति जानेको थियो त्यति गर्यौँ । विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्यौँ । हामी आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्यौँ । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर, त्यसले परेको शैक्षिक क्षेत्रको असर, औधोगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ,” उनले भने ।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो मात्रा लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने भएकाले आउँदो माघ पहिलो हप्तादेखि अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्तादेखि आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*