राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान जारी, बेलुका सात बजेसम्म परिणाम आउने
मकवानपुर । राष्ट्रियसभा सदस्य अन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा–८, स्थित औद्योगिक क्षेत्रमा विहान १० बजेबाट जारी रहेको हो ।
मतदान कार्य आज दिउँसो ३ बजे सकिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेपछि मतगणना सुरु गरी बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिनेछ ।
राष्ट्रियसभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका २ जना र नेपाल मजदुर किसान पार्टीका दुईजनाको बीचमा चुनाव भइरहेको हो ।
गठबन्धनले महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो भने प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कँुवर तथा अन्यमा गोपाल शाक्यका बीच चुनाव भएको हो । यस्तै, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
चुनावमा प्रदेशसभाका १०९ जना सांसद, प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख एवं उप प्रमुख गरी ३४६ जनाले मतदान गर्दैछन् ।
समाचार तयार पार्दासम्म ३१० जनाले मतदान गरिसकेको जनाइएको छ । ९७ जना प्रदेश सदस्य तथा २१३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखले चुनावमा भोट हालेको जनाइएको हो ।
मतदान स्थलमा दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यी दुई फरक फरक मतदान केन्द्रमा भोट हालिरहेका छन् ।
मतदानका बेलामा फोटो खिचिएको विषयमा सुरुमा विवाद समेत भएको थियो । माओवादी केन्द्र दोलखाबाट प्रतिनिधित्व गरेकी प्रदेशसभाकी सांसद हिमाली गोलेले भोट हालेको फोटो खिचेपछि मतदान स्थलमा विवाद हुन पुगेको थियो । गोलेले भोट हालेर फोटो खिच्ने क्रममा प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले रोकेपछि दुवै जनाको बीचमा भनाभन भएको हो ।
यस्तै, आफ्नो पार्टीका तर्फबाट चुनावमा उम्मेदवार नभएकाले चुनावमा भोट पनि नहाल्ने बताएको राप्रपाले मतदान गरेको पाइएको छ ।
सो पार्टीले प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएपनि बागमती प्रदेशसभा सांसद रिना गुरुङ र रिता माझीले मतदान गरेको पाइएको हो ।











































