सबैभन्दा कम जनसंख्या मनाङको नार्पाभूमि गाउँपालिकामा, लिपुलेकक्षेत्रमा अनुमानित ६ सय

लोकखबर
२०७८ माघ १२, बुधबार १४:०३

मकवानपुर । आज बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनसंख्याको प्रारम्भिक विवरण अनुसार मनाङ जिल्लाको नार्पाभूमिमा सबैभन्दा कम जनसंख्या रहेको पाइएको छ ।

नेपालको जनगणना २०७८ अनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ मात्र रहेको पाइएको हो ।
यस्तै, कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै डिस्याङ र नासों रहेका छन् भने मुस्ताङको लो–घेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको जनाइएको छ ।

सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ । बैजनाथपुरमा ७० हजार ३ सय १५ रहेको पाइएको छ ।
सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिकाहरूमा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन् ।

यस्तै, रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका भएका छन् ।
विभागका अनुसार १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या १० रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकाको संख्या १५ रहेको छ ।

यस्तै, नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानका आधारमा करिब ६ सय जना रहेको आँकलन गरिएको छ । वि.सं.२०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभागमा जनगणना गरिएको थिएन । अहिले लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको