सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर द्वारा बिरोध प्रदर्शन
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले वाग्मती प्रदेशको वन ऐन, २०७६ संशोधन गर्न माग गर्दै हेटौंडामा धर्ना दिइएको छ ।
देश व्यापी सप्ताहव्यापी रूपमा बिरोध प्रदर्शन हुँदै आएको सोहि क्रममा आज मकवानपुरमा पनि आफ्नो माग राख्दै बिरोध प्रदर्शन गरिएको महासंघ मकवानपुरका उपाध्यक्ष आरति पाठकले बताइन् । उनका अनुसार हाम्रो माग पूर न हुनेसम्म हाम्रो धर्ना जारी रहने तथा अगामी दिनहरूमा यो भन्दा पनि जोडका साथ धर्नामा उत्रिने बताए । साथै भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना गरिने उनले बताए ।
महासंघको मकवानपुर शाखाले वन तथा वातावरण मन्त्रालयमा धर्ना दिँदै उक्त ऐन संशोधन, वन संरक्षण क्षेत्र घोषणा खारेज र संघीय वन नियमावलीमा सुधारका लागि सुझाव दिएको हो।
वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्न माग गरिएको छ ।
नेपालको संविधानमा प्राकृतिक स्रोत र सोबाट प्राप्त लाभमा स्थानीय समुदायको अग्राधिकार हुने उल्लेख छ । संघीय वन ऐन, २०७६ मा सामुदायिक वनका माध्यमबाट वन व्यवस्थापन, स्वतन्त्र रूपमा वन पैदावारको बिक्री वितरण, वन उधम तथा पर्यापर्यटनको विकास, महिला सशक्तीकरण र गरिबी न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ । तर यी व्यवस्थाअनुसार प्रदेश ऐनमा तालमेल नमिलेकाले संशोधन गर्न माग गरिएको महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंले बताए ।
संघीय वन ऐनमा सामुदायिक वन उपभोक्ता समूहले स्वतन्त्र रूपमा मूल्य निर्धारण गरी वन पैदावार बिक्रीवितरण गर्न पाउने व्यवस्था छ । सोको विपरीत वाग्मती प्रदेशको वन ऐनको दफा ३८ मा सामुदायिक वनबाट उपभोक्ता समूहबाहिर बिक्रीवितरण गर्ने वन पैदावार प्रदेश सरकारले स्थापना गर्ने संरचनालाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएकाले यसले कानुनप्रदत्त स्वायत्तता समाप्त हुने भन्दै व्यवस्था हटाउन महासंघले माग गरेको छ ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरको प्रतिनिधिहरु, बागमती प्रदेश महासंघका अध्यक्ष बिनोद साफ्कोटा तथा नागरिक समाज संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।











































