राप्तीतटमा शवदाह मेसिन जडान, माघ अन्तिमबाट सञ्चालनमा आउने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा वडा नम्बर १०, राप्तीतटमा शवदाह मेसिन जडान गरेको छ । माघ महिनाको अन्त्यसम्ममा शवदाह गर्न सुरु गर्ने गरी शवदाह मेसिन जडान कार्य भइरहेको हेटौंडा उपमहानगरपालिकाका सम्पत्ति व्यवस्थापन तथा खरिद शाखाका प्रमुख बसन्तकुमार सिटौलाले बताए।
उपमहानगरले ५५ लाख ६५ हजार रुपैयाँ लागतमा शवदाह मेसिन खरिद गरेको हो । भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ । शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एकसय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने प्राविधिकको भनाइ छ । परम्परागतरुपमा शवदाह गर्दा शवको तौलअनुसार १ हजार ५ सय केजीदेखि २ हजार केजीसम्म दाउरा खपत हुने गरेको छ ।
मेसिनमा शवदाह गर्दा कुनै किसिमको शूल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएकोले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको समेत समाधान हुनेछ ।











































