भैंसे-भीमफेदी सडक विस्तार सुस्त : समयमै काम नसकिने पक्का
मकवानपुर । भीमफेदी – भीमफेदी–काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गतको भैँसेदेखि भीमफेदी सम्मको सडकको स्तरोन्नति एकदमै सुस्त भएको छ ।
शिलान्यास भएको करिव साढे एक वर्षसम्म पनि सडक स्तरोन्नतिले तीव्रता पाउन सकेको छैन । ठेक्का अवधि सकिन करिव ५ महिना मात्रै बाँकी हुँदा पनी भौतिक प्रगति भने खासै छैन । निर्माण कम्पनी विभिन्न बहाना गर्दै ठेक्का लम्ब्याउने पक्षमा लागिपरेको छ |
हाल सो सडक फराकिलो पार्ने, पर्खाल लगाउनेजस्ता कार्य भइरहेको छ । भैंसे देखि निवुवाटार सम्म सडकलाई डाइभर्सन गरेर खोलाबाट सवारी सञ्चालन गरिएको छ भने निर्माण कम्पनीले सडकमा स्काभेटर प्रयोग गरेर खन्ने, माटो पन्छाउने जस्ता कार्य गरिरहेको छ । अहिले सम्म सडकको भौतिक प्रगति १५ प्रतिशत मात्रै रहेको छ ।
बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सो सडक स्तरोन्नतिका लागि निर्माण कार्यको शिलान्यास गरेका थिए । २०७७ असार २४ गते कुल ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्यको ठेक्का सम्झौता गरिएको थियो ।
स्तरोन्नतिका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको प्रदेश यातायात पूर्वाधार कार्यालयले निर्माण कम्पनी डिएस जेभीसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले आगामी २०७९ सालको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने हुन्छ । तर योजना अनुसार काम नभएकाले समयमै निर्माण सम्पन्न हुन नसक्ने निश्चित भएको छ ।
राणाकालमा काठमाडौंबाट चित्लाङ हुँदै भीमफेदी भएर तराई आउने मूलबाटोको रुपमा रहेको करिब ११ दशमलब ५ किलोमिटर लम्बाइको सो सडकलाई १० मिटर फराकिलो बनाउने उद्देश्य अनुसार काम सुरु गरिएको थियो ।
निर्माण कम्पनीले सो सडक चौडा पार्ने, नाला निर्माण गर्ने, तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गरेर हस्तान्तरण गर्नुपर्ने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।











































