सिमल्टारका भूमिहिन र सुकुम्वासीहरुले जग्गाको लालपूर्जा पाउँछन्ः अध्यक्ष दाहाल

लोकखबर
२०७८ माघ २३, आईतवार १२:४४

मकवानपुर । भूमि व्यवस्था आयोग मकवानपुरका अध्यक्ष बिष्णु दाहालले भूमिहिन, दलित, विपन्न तथा सुकुम्वासीलाई आफ्नै पहलमा जग्गाको लालपूर्जा उपलब्ध गराउने बताएका छन् । शनिवार सिमलटार टोल विकास संस्थाको आयोजनामा भएको भूमि सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले आफ्नै कार्यकालमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘साँच्चै भूमिहिन, विपन्न तथा सुकुम्वासीको हकमा हामी पहल गर्छौँ, यदि यहाँ बसिरहनुभएका केही परिवारहरुको अन्त पनि जग्गा जमिन वा घर छ भने तपाईहरुले अव्यवस्थिततर्फको फारम भर्नुपर्ने हुन्छ र राज्यले कति कर लिन्छ, सो कर तिरेपछि लालपूर्जा तपाईले पनि पाउनुहुन्छ ।’

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका हिमप्रसाद पौडेलले भूमिहिन तथा साँच्चै सुकुम्वासीहरुलाई लालपूर्जा दिलाउने कार्यमा भूमि व्यवस्था आयोगसँग सहकार्य गर्न तयार रहेको बताए । त्यस्तै हेटौंडा उपमहानगरपालिकाका पूर्व सामाजिक विकास अधिकृत धु्रव भुजेलले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गा जमिनमा यहाँका भूमिहिनहरुको स्वामित्व हुनुपर्ने बताउँदै यस कार्यमा आफु पनि सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का वडा सदस्य जुना दाहाल, विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलचन्द्र सुमनलगायत विभिन्न पार्टीका प्रतिनिधि तथा टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सिमल्टार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरको अध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको