जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु, १९ घाइते
काठमाडौँ । जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर आज दुर्घटना भएको हो । रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहानन १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका वडा नम्वर ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा त्रियुगा नगरपालिका वडा नम्वर १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याउने क्रम जारी रहेको र मृतक मग्रातीको शव कानुनी प्रक्रिया पूरा गरी ल्याउने काम भइरहेको छ । उक्त दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।











































