अब रात्रीकालीन व्यवसाय संचालन गरिने, सरकारले बनायो मापदन्ड
मकवानपुर । मापदन्ड बनाएर रात्रीकालीन व्यवसाय संचालनका लागि सरकारले तयारी थालेको छ । सरकारले होटल, रेष्टुराँ, डान्सबार, क्लबलगायतका रात्रिकालीन व्यवसायमा मापदन्ड लगाउँदै व्यवसाय संचालनको लागि तयारी गरेको जनाइएको छ ।
मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ । ‘नृत्य प्रदर्शन गर्ने कलाकारहरुले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ,‘आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्नेछ ।’
यस्तै, कानून अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पुर्याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ । रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ ।
साथै,‘सेवा लिइसकेपछि व्यवसाय स्थलबाट आफ्नो घरसम्म पुर्याइदिन ग्राहकले अनुरोध गरे सम्बन्धित व्यवसायीले स–शुल्क सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक सुरक्षाका लागि व्यवसायीले पोशाक र परिचय(पत्र साथमा सुरक्षागार्डलाई राख्नुपर्नेछ ।’
पर्यटन,होटल, रष्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बालश्रमिकको प्रयोग गर्न नपाइने पनि भनिएको छ । ‘सबै व्यवसायीहरुले आफ्नो व्यवसायको निर्धारित मूल्यसूची विपरित अनावश्यक रुपमा बिलिङ गरी ग्राहकलाई गैरकानुनी रुपमा दुःख दिन पाइने छैन’ मापदण्डमा भनिएको छ ।
मापदण्ड अनुसार अब सुरक्षाका लागि सीसी टीभीबाट निगरानी गर्नुपर्ने भनिएको छ । साथै, कम्तिमा ३० दिनको रेकर्ड रहने गरी फुटेज राख्नुपर्ने गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार पारेको हो ।











































