आजबाट २०७९ सुरु, शुभकामना आदान-प्रदान गरी नयाँ वर्ष मनाइदै
मकवानपुर । आजबाट विक्रम संवत २०७९ आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ ।
वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् । विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउछन् ।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवको पूरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएको विद्वानहरुको भनाई छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवन सुरु भएको मानिन्छ ।
आजका दिन व्यक्तिले पूराना नमिठा पललाई बिर्सिएर नयाँ प्रण गर्ने दिनका रुपमा पनि लिन्छन् ।











































