स्थानीय निर्वाचन : हेटौंडा उपमहानगरमा यी हुन् प्रमुख, उपप्रमुखका उम्मेद्वार !

लोकखबर
२०७९ बैशाख १२, सोमबार २१:०६

स्थानीय तह निर्वाचन २०७९ मा हेटौंडा उपमहानगरपालिकामा हिजो आइतबार र आज सोमबार गरी प्रमुख तथा उपप्रमुखमा विभिन्न पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । केन्द्रीय स्तरको गठबन्धनबीचमा भएको सहमती अनुसार उपमहानगरमा प्रमुख पद एकीकृत समाजवादीले प्राप्त गरेको छ । गठबन्धनमा रहेको कांग्रेसले उपप्रमुखमा उम्मेद्वारी हालेको छ । एमालेले उप उपप्रमुख तथा वडामा आफ्नो एकल उम्मेदवारी दर्ता गराएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रमुख तथा उपप्रमुखमा परेको उम्मेद्वारी यस्तो छ ।

गठबन्धनबाट प्रमुखमा लामा, उपप्रमुखमा बानियाको उम्मेदवारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीकी मीना कुमारी लामाले प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै, उप प्रमुखमा कांग्रेसका राजेश बानियाको उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आज सोमबार दिउँसो ३ बजेतिर गठबन्धनका प्रमुख र उप प्रमुखले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट प्रमुखमा पौडेल, उपप्रमुखमा काफ्लेको उम्मेदवारी
नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकामा प्रमुख पदका लागि अनन्तप्रसाद पौडेल र उप प्रमुखमा सुमित्रा काफ्लेको उम्मेद्वारी परेको छ।
पौडेल संविधानसभा सदस्य हुन् । एमालेले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी दर्ता गरेको छ।

राप्रपाबाट प्रमुखमा सिंह, उपप्रमुखमा न्यौपानेको उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक सिंहले उम्मेदवारी दर्ता गरेका छन् भने उप प्रमुखमा इन्दिरा न्यौपाने डल्लाकोटीको उम्मेदवारी परेको छ ।

जसपाबाट प्रमुखमा लामा, उपप्रमुखमा खतिवडाको उम्मेद्वारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) बाट प्रमुखमा दीपा लामा र उपप्रमुखमा हरिहर खतिवडाको उम्मेद्वारी परेको छ ।
केन्द्रीय गठबन्धनको सहमती विपरित हेटौंडामा जसपाबाट छुट्टै उम्मेद्वारी दर्ता भएको हो ।

नेकपा समाजवादीबाट प्रमुखमा भुर्तेल, उपप्रमुखमा तिमल्सिनाको उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेलको उम्मेदवारी परेको छ ।
भुर्तेलको उम्मेदवारी आइतबार परेको हो । यस्तै, उपप्रमुखमा नेकपा समाजवादीबाट मखकुमारी तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।

नेमकिपाबाट सिंहको प्रमुखमा उम्मेद्वारी
यस्तै, नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंहले हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
सिंहले आइतबार निर्वाचन अधिकृतको हेटौंडा कार्यालयमा प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उन्नत पार्टीका भट्टराईको प्रमुखमा उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराईको उम्मेद्वारी परेको छ । भट्टराईले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेद्वारी दर्ता गरेका हुन् ।

मौलिक जरोकिलोबाट प्रमुखमा बर्तौला, उप्रमुखमा घिमीरेको उम्मेद्वारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका लागि मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाको उम्मेद्वारी परेको छ ।
यस्तै, उपप्रमुखमा मौलिक जरोकिलोबाट सुनील घिमिरले उम्मेद्वारी दर्ता गराएका छन् ।

सचेत नेपालीका गौतमको प्रमुखमा उम्मेद्वारी
हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतमको उम्मेद्वारी परेको छ ।

स्वतन्त्रबाट प्रमुखमा आचार्य, पौडेलको उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकामा स्वतन्त्रबाट दुई जनाको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट लिलाकुमारी आचार्य र देवराज पौडेलको उम्मेद्वारी परेको जनाइएको छ ।

राप्रपा नेपालको छैनन् उम्मेद्वार, सूर्यमा भोट हाल्न उर्दी ! 
केन्द्रीयस्तरमा नेकपा एमालेसंग चुनावी तालमेल गरेको कमल थापाको राप्रपा नेपालले हेटौंडा उपमहानगरमा उम्मेद्वारी दिएको छैन । राप्रपा नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गरेपनि हेटौंडा उपमहानगरको प्रमुख वा उपप्रमुखमा उसले उम्मेद्वारी दिएको छैन । एमालेले अवसर दिने वडामा पनि सो पार्टीको चुनाव चिन्ह ‘तीर’मा नभई एमालेको चिन्ह ‘सूर्य’मा मतदान गर्न राप्रपा नेपालका मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाले आफ्ना कार्यकर्तालाई प्रेस विज्ञप्तीमार्फत उर्दी जारी गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको