गठबन्धनले जिते खानेपानी निःशुल्क, प्रत्येक वडामा मिनि रंगशाला
मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरमा विजयी भए निःशुल्क खानेपानी उपलब्ध गराउने घोषणा गरेको छ ।
हेटौंडालाई समृद्द नगरीको रुपमा विकास गर्ने घोषणासहित निर्वाचनमा होमिएको गठबन्धनले यस्तो प्रतिबद्दता जनाएको हो ।
गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी मीना लामाले आज मंगलबार घोषणापत्रमार्फत् योजनाहरु सार्वजनिक गरिने बताइन् ।
‘हामी निर्वाचित भएपश्चात् उपमहानगरभर दशहजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्नेछौं । न्यूनतम विद्युत पनि निःशुल्क वितरण गर्ने योजना हाम्रो छ ।’, उनले भनिन् ।
उपमहानगरको १९ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराइने गठबन्धनबाट उपमेयरका उम्मेदवार राजेश बानियाँले बताए ।
‘चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउनेछौं । गठबन्धनले प्रत्येक वडामा मिनी रंगशाला, कभर्ड हल, व्यामशाला र पुस्तकालय निर्माण गर्नेछौं ।’, बानियाँले भने,‘हाम्रो नगर युवा, बालबालिका तथा महिलामैत्री घोषणा गर्नेछौं ।’
उनले हेटौंडाको मुख्य ऐजेण्डाको रुपमा रहेको सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारबासीको चित्त बुझाएर हल गर्ने योजना गठबन्धनमा रहेको बताए ।











































