थाहामा गठबन्धनका उम्मेदवार जिताउन पाँच बुँदे सहमति

लोकखबर
२०७९ बैशाख २२, बिहीबार १३:०६

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति गरिएको छ ।

गठबन्धनका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच गठबन्धनका उम्मेदवारलाई जिताउन र चुनावी अभियानलाई थप प्रभावकारी बनाउन बुधबार बसेको संयुक्त बैठकले पाँच बुँदे सहमति गरेको हो ।

थाहामा गठबन्धनबाट माओवादी केन्द्रका बिष्णु बिष्ट मेयरमा र उपमेयरमा काँग्रेसका भरत गोपाली उम्मेदवार बनेका छन् । १२ वटा वडा रहेको थाहामा वडागत रुपमा १२ नम्बरमा मात्र गठबन्धन भएको छ । यसअघि वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने र मेयर, उपमेयरमा संयुक्त प्रचारप्रसारमा जुट्ने गरी दलहरुबीच सहमति भइसकेको छ ।

काँग्रेस थाहा नगर समिति कार्यालयमा बसेको बैठकले प्रतिगमनको विरुद्धमा एक हुँदै प्राप्त उपलब्धीहरुको रक्षा गर्न गठित ५ दलीय गठबन्धनमा रहेका दलहरु बीच स्थानीय निर्वाचनमा भएको गठबन्धन उपलब्धी मूलक बनाउने केन्द्रिय गठबन्धनको निर्णय अनुसार अगाडी बढ्ने निर्णय भएको काँग्रेस नगर सभापति प्रमोद जोशीले बताए ।

बैठकमा थाहामा गठबन्धनबारे घरघरमा बुझाएर प्रभावकारी कार्यान्वयन गर्ने गराउने,। गठबन्धनको निर्णय भए बमोजिम थाहा नगरको प्रमुखमा बिष्णु बिष्ट र उपप्रमुखमा भरत गोपालीलाई विजयी गराउन साझा कार्यक्रम गरी सक्रिय हुने निर्णय गरिएको छ ।

केन्द्रीय गठबन्धनको नीति विपरित तथा गठबन्धन भित्रका बाहेक अन्य उम्मेदवार र दललाई कुनै प्रकारको सहयोग नगर्ने, प्रचार प्रसारका क्रममा, समाजिक सञ्जालहरुमा र सञ्चार माध्यमहरुमा विचार धारणा सम्प्रेषण गर्दा गठबन्धनको मर्म विपरित अभिव्यक्ती नदिने र गठबन्धनको केन्द्रिय नीतिअनुसार गठबन्धनमा रहेका अन्य दलहरुबीच पनि निरन्तर वार्ता संवाद गरी प्रतिगमतविरुद्धको साझा अभियान अगाडि बढाउने सहमति भएको माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष बिनोद लामा थिङले जानकारी दिए ।

नगरमा पछिल्लो अवस्थाबारे जानकारी लिएर सबै दलहरुको सहकार्यमा एकतालाई प्रभावकारी बनाउने र निरन्तर छलफल गरी थप गृहकार्य गर्ने विषयमा पनि छलफल भएको लामाले बताए । बैठकमा काँग्रेसबाट सभापति प्रमोद जोशी, माओवादी केन्द्रबाट अध्यक्ष बिनोद लामा थिङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष सानुकाजी गोपाली र जनता समाजवादी पार्टीबाट सुजन तामाङको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको