हेटौंडामा ढल्यो एमालेको बिरासत, गठबन्धनबाट एकीकृत समाजवादीकी लामा बनिन् मेयर

लोकखबर
२०७९ जेष्ठ ७, शनिबार ०२:४१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा निर्वाचित भएकी छिन् ।

पाँच दलीय गठबन्धनकी साझा उम्मेद्वार लामाले नेकपा एमालेका अनन्त प्रसाद पौडेललाई २ हजार १ सय ६७ मतान्तरले पराजित गरेकी हुन् ।
विजयी लामाले २३ हजार ७५ मत ल्याइन् भने उनका निकटतम् प्रतिष्पर्धी एमालेका पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे । यस्तै, अर्का प्रतिष्पर्धी राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो भए ।

उपमहानगरको उपमेयरमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका राजेश बानिया विजयी भएका छन् । एमालेकी सुमित्रा काफ्लेलाई हराउँदै विजयी बानियाले ३२ हजार ५ सय ९३ मत प्राप्त गरे । एमालेकी काफ्लेले २३ हजार ९ सय ९ मत पाएकी छिन् । यस्तै, राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८३ मत प्राप्त गरिने ।

एक लाख ४ हजार ४ सय ५० जना मतदाता रहेको हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ जनताले भोट हालेका थिए ।
लामाको विजयसंगै हेटौंडामा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । लामाले अनेकौं चुनौतीका बीच चुनाव जितेकी हुन् ।
लामो समय एमालेको राजनीतिमा सक्रिय, संविधानको सदस्य समेत रहेका पौडेललाई हराउँन उनका लागि चुनौतीपूर्ण थियो ।
गठबन्धनभित्र कांग्रेसको असन्तुष्ट पक्षको मत, राप्रपाबाट उम्मेदवार बनेका सिंहको लोकप्रियता जस्ता चुनौती पन्छाउँदै एकीकृत समाजवादीकी नेतृ लामा पाँच वर्षे कार्यकालका लागि उपमहानगरको प्रमुखमा निर्वाचित बन्न सफल भएकी हुन् ।
पार्टी स्थापनादेखि मकवानपुरको अध्यक्ष रहेका श्रीधर पोख्रेलले मेयर पदको टिकट नपाएपछि एमाले प्रवेश गरी लामा हराउँन सक्रिय भूमिका खेल्दा पनि जित हासिल गर्न लामा सफल बनिन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा लगायतको साथ पाएकी लामा यसअघि हेटौंडा उपमहानगरमा २०७४ मा एमालेबाट उप प्रमुख बनेकी थिइन् ।

लामा बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयर समेत बन्न सफल भइन् ।
हेटौंडा बजार क्षेत्रमा राप्रपाका सिंहलाई लोकप्रिय मत प्राप्त भइरहँदा हेटौंडाको १२ र १३ नम्बर वडाको ५० प्रतिशतभन्दा बढी मत लामाले प्राप्त गरिन् ।

लामाले महिला, तामाङ समुदायको मत आकर्षित् गर्न सकेको बुझिन्छ । पार्टी विभाजनपछि एमालेबाट एसमा लागेकी लामालाई केन्द्रीय गठबन्धनको सहमती अनुसार हेटौंडा उपमहानगरमा प्रमुखमा चुनाव लड्न अवसर आएको थियो । एमालेकै असन्तुष्ट केही मत पनि लामालाई आएको देखिनुले पराजित बनेका पौडेल पार्टीभित्रैबाट अलोकप्रिय रहेको देखिएको छ ।

उपमहानगरको नेतृत्व सम्हाल्ने अवसर पाएकी लामाको जन्म विंसं २०३३ साल पुष २७ गते हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा भएको हो । बुवा शुक्रवीर लामा र आमा सीतादेवीको जेठी छोरी लामाको बाल्यकाल साधारण रुपमा बित्यो । उनी २०४६ सालमा विद्यार्थी जीवनबाटै राजनीतिमा लागेकी थिइन् । लामाले हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित त्रिभुवन माविबाट एस.एल.सी उत्तीर्ण गरेकी हुन् । मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरिखेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबी अध्ययन गर्दै उनी राजनीतिमा होमिएकी हुन् ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको