वनदेवी आधारभूत विद्यालयमा स्थलगत निबन्ध प्रतियोगिता
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरका विभिन्न वडाका विद्यालयमा अध्ययनरत विद्यार्थीबीच ‘कोरोनाले शिक्षामा पारेको प्रभाव ’ विषयमा स्थलगत निबन्ध प्रतियोगिता भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वनदेवी आधारभूत विद्यालयको आयोजनामा उपमहानगरपालिकाको वडा नम्बर ७, ८, १४ र १५ नम्बर वडाका सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तह (६ देखि ८ कक्षासम्म) का विद्यार्थीबीच प्रतियोगिता आयोजना गरिएको हो ।
चार वटा वडामा रहेका १६ विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा तासिर इङ्गलिस् बोर्डिङ् स्कुलकी सिमोन भट्टराई प्रथम, वनदेवी आभारभूत विद्यालयकी उर्जना घले द्धितीय, नवज्योति माध्यमिक विद्यालयकी प्रमिला थिङ तृतीय, माउन्ट एभरेष्ट इङ्गलिस् बोर्डिङ् स्कुलकी नितिशा बराल र चन्द्रोदय माध्यमिक विद्यालयकी विशाका देउला सान्त्वना भए । प्रतियोगितामा प्रथम हुने भट्टराईले ६ हजार, द्धितीय हुने घलेले ४ हजार, तृतीय हुने थिङले २ हजार र सान्त्वना हुने बराल र देउलाले पन्ध्र-पन्ध्र हजार नगद प्राप्त गरे । प्रतियोगितामा सहभागी सबैलाई स्टेशनरी सामग्री र सहभागिताको प्रमाणपत्र वितरण गरिएको जनाइएको छ ।
प्रतियोगितामा निवृत्त शिक्षक धु्रवकुमार भुजेल, शिक्षकहरू ज्योती न्यौपाने र अनु रोक्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तनको विशीष्ट आतिथ्यमा प्रतियोगिता भएको हो ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षतामा भएको प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेल, शिक्षक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष जीधराज ढकाल, वडा प्रतिनिधि मेनु विश्वकर्माको पनि कार्यक्रममा उपस्थिती रहेको सो विद्यालयकी शिक्षक भावना सापकोटाले जानकारी दिइन् ।











































