प्रदेश प्रमुख शर्माको शुभकामना सन्देश : चेली-माइती बीचको सम्बन्ध प्रगाढ बनाउँन तीजको भूमिका महत्वपूर्ण

लोकखबर
२०७९ भाद्र १५, बुधबार ०७:२८

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली-माइती बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेपाली हिन्दु नारीहरुको पर्व हरितालिका तीजका अवसरमा मंगलबार शुभकामना विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख शर्माले चेली-माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउँनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको बताएका हुन् ।

प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्दि एवं अटल सौभाग्यका लागि शुभकामना दिएका हुन् ।

प्रमुख शर्माले हाम्रो देश नेपाल विभिन्न भाषा,धर्म,संस्कृति,संस्कारले भरिपूर्ण भएकाले उल्लेख गर्दै भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म आफ्नो र परिवारका सदस्यको हितको कामना गर्दै मनाइने तीजको पनि आफ्नै महत्व रहेको बताएका छन् ।

यस पर्वमा देखिने विभिन्न विकृत पक्षलाई भने त्याग्नुपर्ने प्रमुख शर्माको सुझाव छ । ‘यो पर्व मनाउँने सन्दर्भमा यदाकदा देखिने भड्किलो शैली,देखासिकीजस्ता विकृत पक्षलाई पूर्णरुपमा त्याग्नु आवश्यक छ ।’ उनले शुभकामना सन्देशमा भनेका छन् ,‘यसो गरेमा यस पर्वको सांस्कृतिक तथा धार्मिक महत्वको संरक्षण हुन गई तीजको मौलिकता पनि कायम राख्न सघाउ पुग्दछ ।’

प्रमुख शर्माले हरितालिका तीजले महिलालाई सशक्त तथा क्रियाशील बनाउन मद्घत गरोस् भन्दै सामाजिक विभेदको अन्त्य गर्दै समतामूलक एवं सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको