सकारात्मक परम्परा तथा पर्वहरुप्रति गौरवबोध गर्न सक्नुपर्नेछ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले दशैं, तिहारलगायत नेपालीहरुको चाडहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले आज आइतबार शुभकामना सन्देश जारी गर्दै यी चाडहरुका सन्दर्भमा बागमती प्रदेशबासी तथा समस्त नेपालीमा शुभकामना व्यक्त गरेका हुन् । ‘हामी नेपालीहरुको महान चाड बडा दशैं, तिहार, नेपाल संवत ११४३, छठ, इदलगायत चाडपर्वका अवसरमा बागमती प्रदेशबासी तथा समस्त नेपाली दाजुभाई-दिदिबहिनीहरुमा सुख, समृद्धि, शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
प्रमुखको सन्देशमा हाम्रो देशमा मनाइने मौलिक सांस्कृतिक पर्वहरुले एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्ने जनाइएको छ । ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा मनाइने मौलिक सांस्कृतिक पर्वहरुले एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्नेछ ।’ शुभकामना सन्देशमा भनिएको छ । यस्तै, आपसी मेलमिलाप एवं सद्भाव अझ प्रगाढ बनाउन पनि पर्वहरुले भूमिका खेल्ने प्रदेश प्रमुख शर्माको भनाई छ । साथै, उनले यी पर्वहरुले हामीलाई एउटै सुत्रमा बाँधेर सबल तथा समृद्ध राष्ट्र निर्माणमा अहम् भूमिका निर्वाह गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।
हामीबीच विकसित भएका सकारात्मक परम्परा तथा पर्वहरुप्रति गौरवबोध गर्न सक्नुपर्नेमा प्रमुख शर्माको जोड छ ।












































