पत्रकार पुडासैनी लगायतको स्वरमा ‘जाग-जाग’
मकवानपुर । मकवानपुरका पत्रकार बलराम पुडासैनी लगायतको स्वर रहेको स्वदेश गीत सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीतको म्यूजिक भिडियो केही दिनअघि वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा पत्रकार पुडासैनीसंगै गायक तथा संगीतकार घनश्याम ढकाल, पुस्कर नेपाल, युवराज लामा, गायिकाहरु रोजिना बल, संगीता मगर र पुनम थापा मगरको स्वर छ ।
गीतको संगीत संयोजन दिपकराज विश्वकर्माले गरेका हुन् । भिडियोको दृश्य सम्पादन भने अन्तरा स्टुडियोले गरेको हो । आमनेपालीमा राष्ट्रिय भावना जागृत गराउने उद्देश्यले सुरभारम्भ कला केन्द्र, हेटौंडाको सहयोगमा गीत तयार पारिएको गीतकार बाँस्कोटाले जानकारी दिए ।











































