मलाई हराउँन केपी ओलीबाट दश करोड लिएर केही मान्छे लागिपरेका छन् अरे : विरोध खतिवडा

लोकखबर
२०७९ कार्तिक १५, मंगलवार १२:५८

मकवानपुर । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसहितको गठबन्धन लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुरको प्रतिनिधीसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले जसरी पनि आफूलाई हराउँन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताएका छन् ।

आज (मंगलबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले एमालेसंग विद्रोह गरी प्रतिगमन विरुद्दको लडाइमा लागेका हामी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विरोध खतिवडालाई यो चुनावमा जसरी पनि हराउँनुपर्छ भनेर केही व्यक्ति लागिपरेको आफूले सुनेको बताएका हुन् ।‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउँनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छ ।’, खतिवडाले भने,‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउँन लागेका छन् अरे।’खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जतिपनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए । ‘पैसा बुझेर हराउँन लागेकाहरु मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ खतिवडाले भने ।

खतिवडाले मकवानपुरमा आफूहरु गठबन्धनका उम्मेदवार रहेकाले कांग्रेस, माओवादीका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरे ।‘कतै कांग्रेस त कतै माओवादी केन्द्रबाट उम्मेदवार छैनन् भनेर भ्रमहरु छरिएको छ ।’ खतिवडाको भनाई छ,‘ हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेद्वार हौं ।’

उम्मेदवार खतिवडाले प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा एमालेबाट निर्वाचित झण्डै आधा दर्जन वडाअध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेका दोहोर्‍याए ।‘गत स्थानीय तहको चुनावमा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका आधा दर्जन वडाअध्यक्ष मेरो चुनावी प्रचारमा लागिसके ।’खतिवडाले भने, ‘उनीहरुको नाम भनौं भने अरिङ्गालले मुख सुन्निने गरी हान्लान् ।’ खतिवडाले ती वडाध्यक्षहरुको नाम अहिले भन्दा उनीहरुमाथि असुरक्षा हुने बताए ।

यस्तै,निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले सरकारमा रहँदा आफ्नो क्षेत्रको विकासका लागि सकेजति काम गरेको चर्चा गरिन् ।‘मैले आफ्नो क्षेत्रका लागि सकेजति काम गरेको छु ।’ मोक्तानले भनिन्,‘सुरुमा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री भएका बेला मेरा क्षेत्रका लागि मैले अघि सारेका योजनाहरु पर्नै नदिएपनि अहिले गठबन्धनको प्रदेश सरकारबाट हामीले सकेजति काम गरेका छौं ।’

प्रदेश सरकारको सामाजिक विकासमन्त्री समेत रहेकी मोक्तानले आफू यही समुदायको छिमेकी छोरी भएकाले आफूलाई पुन : प्रदेशसभामा विजयी बनाएर पठाउन आग्रह गरिन् । ‘गठबन्धनका विषयमा छरिएका अनावश्यक भ्रम नपत्याउनु होला ।’ मोक्तानले नागरिकमाझ प्रष्ट पारिन्,‘गठबन्धनबाट उम्मेदवार बनेका तपाईहरुको घरदैलोमा आइपुगेका हामी साझा उम्मेदवार हौं । हामी सबै विजयी हुनेछौं ।’

 

कार्यक्रममा गठबन्धन मकवानपुरका संयोजक समेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्द लामाले एमाले अहिले पनि अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रतिगमन फर्काउन षड्यन्त्र भइरहेको टिप्पणी गरे । ‘अहिले पनि केपी ओलीको नेतृत्वमा देशमा प्रतिगमन फर्काउन षडयन्त्र गरिदैछ । त्यस्ता षड्यन्त्र असफल तुल्याउनका लागि गठबन्धन गरी हामी चुनावमा होमिएका हौं ।’नेता लामाले मकवानपुरमा विरोध खतिवडा, कुमारी मोक्तान पनि नेपाली कांग्रेसकै उम्मेद्वार भएकाले मतदातामाझ भ्रम छरिएमा नअलमलिन आग्रह समेत गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको