कुमारी मोक्तानको चौथो पटक संसदीय यात्रा

लोकखबर
२०७९ मंसिर ८, बिहीबार ०७:०६

मकवानपुर । मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट बाम लोकतान्त्रिक गठबन्धनकी उम्मेद्वार कुमारी मोक्तानले चौथो पटक संसदको यात्रा तय गरेकी छिन् । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य मोक्तान नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई तीनसय २२ मतले हराउँदै विजयी भएकी हुन् ।

उनले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका थिए । जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित आफ्नो नभई मकवानपुर प्रदेशसभा २ (क)  का सबै नागरिकको जित भएको बताइन् । ‘मेरो पाँच वर्ष यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्नेछु’, मोक्तानले भनिन्, ‘जनतासँग गरेको बाचा पुरा गर्नेछु ।’

विद्यालय शिक्षा छाडेर १६ वर्षको उमेरमा तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरे लगत्तै उनी युद्धमा होमिएकी थिईन् । उनी मकवानपुरकी जुझारु महिला नेतृ हुन् । २०३६ सालमा जन्मिएकी मोक्तानले २०५० सालमा विद्यार्थीबाट राजनैतिक यात्रा सुरु गरेकी थिइन् । त्यसको केहि समयपछि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा संगठित भईन् । २०५६ सालमा तत्कालिन शाही नेपाली सेनाबाट पक्राउ परेकी मोक्तान २०५८ मा रिहा भईन् । उनी २०५९ मा मकवानपुर जिल्ला पार्टी सचिव बनिन् । २०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै २०६१ मा तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालिन जनसरकार प्रमुख बनिन् । शान्ति सम्झौतापछि उनी २०६३ सालमा विधायीका सदस्य मनोनित भइन् । मोक्तान २०६४ सालमा तत्कालिन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । २०७४ को प्रदेशसभा निर्वाचनमा उनी यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । उनी २०७८ मा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन् । आमाको प्रेरणाबाट मोक्तानले पनि राजनीतिक यात्रा तय गरेकी थिइन् । निरन्तर निर्वाचनमा विजयी हुने माओवादीभित्रका उनी सफल महिला नेतृ हुन् ।
उशि मभष्त

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको