सुत्केरी भेट्न कोसेली बोकेर नकौंली पुगिन् नगर प्रमुख लामा
मकवानपुर । स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य जाँच गरीरहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ नकौंलीका गर्भवती महिलाहरुलाई भेट्नका लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा गाउँसम्म पुगेकी छन् ।
तीन बर्षदेखि संघीय सरकारबाट प्राप्त ‘पोषण संवेदनशील कार्यक्रम’ को कोसेली बोकेर नगर प्रमुख लामा गाउँ पुगेकी हुन् । गाउँमा रहेर गर्भवती अवस्थामा अपनाउनु पर्ने सुरक्षा र खानपर्ने पोषणयुक्त खानाको बारेमा जानकारी दिने उद्देश्य सहित उनी नकौंली गएकी हुन् । नकौंली स्वास्थ्यचौंकीमा पुगेर नियमित गर्भ जाँचमा रहेका १३ जना गर्भवतीलाई भेट्दै नगर प्रमुख लामाले गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराको बारेमा जानकारी दिर्दै आफू र आफ्नो बच्चाको ख्याल गर्न आग्रह गरिन् ।
गाउँमा भेट भएका गर्भवतीलाई पोषयुक्त खानेकुरा घ्यू, काँचो बदाम, अण्डा, दाल सहित न्यानो कपडा हस्तान्तरण गरिन् । सामग्री हस्तान्तर गर्दै प्रमुख लामाले आफूले भोगेका अनुभव साट्दै सबैलाई सचेत रहँदै नियमित स्वास्थ्य जाँच गर्दै आफू र आफ्नो बच्चाको सुरक्षाको लागि स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउन सुझाव दिइन् । उनले बच्चा गर्भमा रहेकै भरमा आफूलाई हिनताबोध नगरी हिम्मतका साथ काम गर्न आग्रह गर्दै उनले गाउँमा रहँदा परेका समस्याबारे जानकारी दिए आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । सुत्केरी भएपछि आयमुलक काममा जोडिएर दैनिक वा मासिक आम्दानीको श्रोत पहिचानगर्न उपमहानगरपालिका सहयोगी बन्ने उनले बताइन् ।
नकौलीमा नियमित स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माणमा उपमहानगर लागिरहेको उनको भनाई छ । खानेपानीको अभावका कारण महिनामा एक पटक मात्र सेवा दिदै आएको चौकीबाट नियमित सेवा प्रदान गर्नका लागि चाडै काम सुरु गर्ने जानकारी दिइन् । सामान्य समस्या लिएर समय खर्च गर्दै बजारसम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि पूर्वाधारसम्पन्न स्वास्थ्यचौकी चाँडै सञ्चालन हुने पनि उनले बताइन् ।
उपमहानगर भएर पनि सडक सुविधाबाट समस्यामा रहेको नकौलीका जनतालाई सहज सडक सञ्जालसँग जोड्न लागि संघीय सरकारले ९७ लाख रुपियाँ बजेट दिएको भन्दै अब चाँडै सडकको काम प्रमुख लामाले जानकारी दिइन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाईली, हेटौंडा १ का वडा सदस्य मनु दाहाल,उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाइँलगायतको उपस्थिती थियो ।











































