बागमती प्रदेशमा वडा समाजवादी कार्यक्रमको तयारी सुरु
मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरे बमोजिम वडा समाजवादी कार्यक्रमका लागि तयारी सुरु गरेको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवस्था भए अनुसारको कार्यक्रम सुरु गर्नका लागि सरकारले एउटा समिती समेत निर्माण गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालको संयोजकत्वमा तीन सदस्यीय समिती बनाइएको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको ११९ पालिकाको सबै वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्नका लागि समिती बनाएको हो । समितीको अरु दुई जना सदस्यहरुमा वन तथा वातावरण मन्त्री विशाल खड्का र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ रहेका छन् ।
वडा समाजवादी कार्यक्रममा प्रदेशको हरेक वडाका लागि एक करोड बजेट विनियोजन गरिने सरकारको भनाई छ ।











































