हेटौंडालाई सुन्दर शहर बनाउने अभियानमा प्रमुख लामा
मकवानपुर । हरित शहरको रुपमा नाम कमाएको हेटौंडालाई थप सुन्दर र आक्रर्षक शहर निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले जोड दिएकी छन् । नियमित उपमहानगर क्षेत्रमा सरसफाई, वृक्षारोपण सहितपार्क निमाणले शहरको सुन्दरता बढाउने बिश्वासका साथ उनले कामलाई अघि बढाएकी छन् ।
‘हेटौंडा सफा अभियान’ सञ्चालन गर्दै उपमहानगर क्षेत्रमा रहेका टोलविकास संस्था र अरु संघसंस्थामार्फत नगरको सुन्दरतामा जोड दिएकी नगर प्रमुख लामाले मंगलबार हेटौंडा- ११ पर्वपश्चिम राजमार्ग राप्तीपुलपारी बुद्ध पार्क अगाडी विभिन्न प्रजातिका विरुवा रोपेकी छिन् ।नगर प्रमुख लामा सहितपत्रकार महासंघ बागमती प्रदेश समितीका संस्थापक अध्यक्ष प्रताप विष्ट, स्थानीय अगुवा सिद्दिलाल श्रेष्ठले २ सय १५ विरुवा रोपेका थिए ।
बाहिरबाट हेटौंडा आउँने पर्यटक तथा हेटौंडा हुँदै राजमार्गमा हिड्नेका लागि हरियो र सुन्दर देखाउनका लागि उपमहानगरले कल्की, बृगमबेली, गुल्मोहर, निलकाडाँडा, पाम सहितका बिरुवा राप्तीकिनार क्षेत्रको माथिल्लो भागमा रोपेको हो । राजमार्ग क्षेत्रको राप्ती पुलपारी सडक किनारमा गरिएको वृक्षारोपणमा स्थानीय सिमलटार टोलविकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता थियो । जनतासँगको सहकार्यमा काम गर्न सके रोपिएको विरुवाको पनि संरक्षण हुने नगर प्रमुख लामाको भनाई छ ।
नगर प्रमुखमा निर्वाचित भएपश्चात् हरित शहरसंगै सफा अभियान पनि सञ्चालन गर्न जोड दिदै आएकी नगर प्रमुख लामाले बजारलाई व्यवस्थित बनाउँनका लागि कार्यदल बनाएर काम गरिरहेको बताइन् । यस्तै, उनले हेटौंडा शहरलाई सुन्दर र व्यवस्थित बनाउँनका लागि आवश्यक खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा नगरवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क दिने, अव्यवस्थित रुपमा निर्माण भएका टहरा हटाउने, सडक पेटी सफा राख्ने र अव्यस्थित रुपमा सञ्चालनमा रहेको अटो मयुरी व्यवस्थापन सहितको काम गर्दै अघि बढिरहेको नगर प्रमुख लामाले जानकारी दिइन् ।
बाह्य जिल्लाबाट उपमहानगरपालिका क्षेत्रमा आउने मानिसहरुलाई आकर्षक शहरको रुपमा देखाउनका लागि संचालन गरिएको ‘हेटौंडा सफा अभियान’ हरेक शनिबार टोल विकास संस्थाको अगुवाईमा संचालन भइरहेको उनले बताइन् ।











































