मकवानपुरमा नाच्दै-गाउँदै मनाईयो ‘तमु ल्होछार’
मकवानपुर । मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो विशेष पर्वको रुपमा तमु ल्होछार मनाएका छन् ।
आज शुक्रबार हेटौंडा ११ स्थित सहिद स्मारकमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछार मनाएका हुन् ।
तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृती संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।‘तमू ल्होछार नेपालकै मौलिक पर्व हो, तर तीन तहको सरकार भएर पनि खासै ध्यान दिएको छैन,’ उनले भने, ‘आर्थिक सहयोग गरेर ल्होछारलाई साँस्कृतिक उत्सवको रुपमा मनाउन ध्यान दिनुपर्छ ।’ नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर अध्यक्ष समेत रहेका उनले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए ।
गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, थारु कल्याणकारिणी सभा मकवानपुरका जिल्ला सभापति हरिलाल चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल कुमाल समाज सुधार समितीका केन्द्रीय सचिव भैरबबहादुर कुमाल, भुजेल समाज सेवा समितिका केन्द्रीय कोषाध्यक्ष भीम भुजेल, दनुवार जागरण सेवा समिती मकवानपुरका सचिव कृष्णबहादुर राई दनुवार,सेनानी मेजर विमल गुरुङ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ,गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका संरक्षक पुष्पबहादुर गुरुङ लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती,बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच-गाँन प्रस्तुत गरेका थिए । मकवानपुरमा वि.सं.२०५५ सालदेखि गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार मनाउँदै आएका छन् ।











































