फापरबारीमा पुस २४ बाट ‘बागमती गोल्डकप’ हुने
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा हुँदै आएको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’को पाँचौं संस्करण आगामी पुस २४ गतेबाट सुरु हुने भएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माघ ३ गतेसम्म प्रतियोगिता संचालन हुने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । प्रतियोगिता बागमती गाउँपालिका वडा नम्बर ८ को जनता माविको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताका उपाधि विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद विकास समितीका संयोजक टिका श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार प्रतियोगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको छ ।
यस्तै,प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद दश–दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र र हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा एक विदेशी टिमदेखि ७ वटा ए डिभिजन क्लब र २ वटा मोफसलको क्लबसहित दश वटा टिमको प्रतियोगितामा सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक बागमती क्लबका साथै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर ११, जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोट्र्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । यसअघि सम्पन्न गोल्डकप अन्तर्गत चौथो संस्करणको उपाधि थ्रीस्टार क्लबले हात पारेको थियो ।











































