एकीकृत समाजवादीले सरकारप्रतिको दृष्टिकोण भोलि प्रष्ट पार्ने

लोकखबर
२०७९ पुष १६, शनिबार १७:१८

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटीको १४ औं बैठक आज शनिबारबाट पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ ।

भोलिसम्म चल्ने बैठकले विकसित पछिल्लो राजनीतिक घटनाक्रम, चुनावी समीक्षा र एमाले लगायत दलको समर्थनमा बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका सम्बन्धमा आवश्यक निर्णय गर्ने जनाइएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकलाई महासविव डा.बेदुराम भुसालले संचालन गरेका थिए । बैठकमा अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिरावाट अगाडी बढाउने विषयमा गम्भिरतापूर्वक छलफल गर्न अनुरोध गरेका छन् ।

अध्यक्ष नेपालले पार्टीको शक्ति सुढृढिकरणका लागी शसक्त एजेण्डाहरुका साथ अगाडी बढ्ने र देशव्यापी अभियान संचालन गर्ने गरी तयारी गर्न समेत निर्देशन दिएका छन् ।

सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माण गर्न आवश्यक राजनैतिक तथा वैचारिक हतियारलाई चुुस्त–दुरुस्त पार्नुपर्नेमा जोड दिए । नेता खनालले पार्टी संचालनका समग्र विषयमा वृहत्त समीक्षा गर्नुपर्ने बताए ।

महासचिव डा. वेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गरे । त्यस विषयमा पनि बैठकमा छलफल जारी छ ।
बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, पार्टी निर्माणको दिशा, पार्टी निर्माणको आगामी योजना, संगठन निर्माणका योजना र वामपन्थी एकतासँग सम्बन्धित विषयमा विविध कोणवाट छलफल भईरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अहिलेसम्म १६ जना नेताहरुले आफ्नो धारणा राखेका छन् । बैठक भोलि विहान ११ वजेबाट पुन : संचालन हुने बताईएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको