बाघ नियन्त्रण गर्न जिल्ला वनलाई बकैया ५ नम्बर वडाको आग्रह !

लोकखबर
२०७९ पुष १९, मंगलवार ०९:१५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ मा बाघ आतंक भएपछि यहाँका स्थानीयवासीले बाघ नियन्त्रण गर्न वडालाई आग्रह गरेका छन् ।
बकैया ५ पावस टोलमा बाघले स्थानीयवासीले पालेको पशु खान थालेपछि आतंकित भएका यहाँका स्थानीयले बाघ नियन्त्रणका लागि वडालाई आग्रह गरेका हुन् ।
बाघ आतंक भएपछि वडा नं ५ की वडाअध्यक्ष लक्ष्मी जिम्बाले वडावासीलाई सुरक्षित राख्न जिल्ला वन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएकी छिन् । वडा अध्यक्ष सहित वडा सचिव देवराज लामिछानेको नेतृत्वमा गएको टोलीले जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटालाई तत्काल बाघ नियन्त्रणका लागि आवश्यक कदम चाल्नका लागि लिखित पत्र सहित आग्रह गरेको हो ।
पत्र बुझ्दै जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटाले बाघ नियन्त्रणका लागि आवश्यक काम कार्वाही गर्न आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्यालयको तर्फबाट गर्नुपर्ने नियन्त्रणको प्रयास भईरहेको जानकारी समेत दिए ।
यता वडा अध्यक्ष जिम्बाले वडावासी सहित सम्पूर्ण बकैयावासीलाई बाघबाट सुरक्षित रहन आग्रह गरेकी छिन् । उनले बाघले धेरै अघिदेखि आतंक मच्चाउन सुरु गरेको स्मरण गराउँदै साँझ र बिहानको समयमा घर बाहिर ननिस्किन र सजक र सचेत भई बस्न अनुरोध गरेकी छिन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको