भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने : बागमती प्रदेश प्रमुख शर्मा

लोकखबर
२ माघ २०७९, सोमबार ०७:५५

मकवानपुर । बागमती प्रदेका प्रदेश प्रमुख यादव चन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्नका लागि सुरक्षित संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
आज माघ २ मा मनाइँदै गरिएको २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो दिवसले सुरक्षित संरचना निर्माणका लागि थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

भूकम्पीय जोखिमका दृष्टिबाट नेपाल ११ औं स्थानमा रहेको तथ्यलाई मध्यनजर गर्दै प्रमुख शर्माले यसबाट जोगिन पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गर्नु आवश्यक रहेको बताए । ‘वि.स.२०७२ वैशाख १२ गतेको भूकम्पको प्रभाव हामीमाझ ताजै रहेकाले पनि यसबाट कतिसम्म सचेत रहनुपर्छ भन्ने हामी सहजै बुझ्न सक्छौं ।’ प्रदेश प्रमुख शर्माको सन्देशमा भनिएको छ ।

आजका दिनलाई औपचारिकतामा सीमित नगरी नागरिकलाई भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न आवश्यक मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने वातावरण बनाउन शर्माले आग्रह गरेका छन् । ‘यो दिवसले सचेत र सुरक्षित रहन सबैलाई प्रेरित गरोस् ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएको छ,‘भूकम्पबाट क्षति भएका संरचनाहरु पुनर्निर्माण एवं पुनःस्थापनाको कार्यमा लाग्ने र सहयोग पुर्‍याउँने सम्बन्धित सम्पूर्ण पक्षहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*