वीरहरुलाई सदैव स्मरण गर्दै अघि बढ्नुपर्छ : प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीरहरुलाई सदैव स्मरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
आज माघ १६ गते मनाइँदै गरिएको शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले वीर शहीदहरुलाई एकदिन औपचारिक कार्यक्रम गरेर मात्र नपुग्ने बताएका छन् । ‘नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने ती वीरहरुलाई हामी सदैव स्मरण गर्दै अघि बढ्नुपर्छ । शर्माको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा लागि उहाँहरुले गर्नुभएको संघर्ष र त्यागको मर्मलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको कार्यमा मन, वचन र कर्मले लाग्न प्रतिबद्ध हुनुपर्दछ ।’
सन्देशमा निरंकुश तानाशाही व्यवस्था विरुद्धको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष शहीद दिवश मनाउने गरिएको उल्लेख छ । प्रमुख शर्माले यो दिवशको सन्दर्भमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षा लगायत न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु भनेका छन् ।
आजको दिन शहीदहरुलाई सम्झिइरहँदा देश र जनताको हितका निम्ति प्राप्त भएको उपलब्धिहरू शहीदहरुको बलिदानबाट मात्र सम्भव भएको तथ्यलाई स्मरण गर्दै उहाँहरूको जीवन उत्सर्गले आलोकित मार्गमा हिड्नका लागि प्रेरित हुने र उहाँहरुको सपना साकार पार्ने प्रण गर्ने दिनका रूपमा सम्झनु पर्ने प्रमुख शर्माको भनाई छ । सन्देशमा शर्माले नेपालमा समावेशीता र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात समृद्ध नेपाल निर्माण गर्न सम्बन्धित पक्षहरूलाई यो दिवसबाट थप प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।











































