अशोक दर्जीको गीतमा झुमे हेटौंडेली, भोली प्रकाश सपुत आउने !
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेका छन् ।
सोमबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा मज्जाले झुमेका हुन् । बालगायक अशोक दर्जीको प्रस्तुतीमा हेटौंडेलीको दर्शकको उत्साह हेर्दा गायकदर्जीको क्रेज देखियो । उनले ‘मन बिनाको धन ठूलो की ? धनविनाको मन’ भन्ने गीतमा दर्जीसँगै दर्शकहरुले गीत गाउँदै रमाए ।
दर्शक दीर्घामा नाँच्दै कम्मर मर्काउँदै गायक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकीको प्रस्तुतीमा दर्शकहरु रमाए । गायक बुढाथोकी र दर्जीले करिब एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए । उनीहरुले चौरीको चाम्रो छुर्पी…,रुपै मोहनी …, तिम्रो फोटो देखाई देखाई…, कसरी कसरी…, टिकटकमा देखेको…, बा आमा भनेका …, कोही डाक्टर बोलाइदेउन, तोरी तेल लाएर कपाल कालो भो जस्ता करिब एक दर्जन गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए ।
महोत्सवमा गायक प्रदीप त्रिपाठी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक थियो । त्यस्तै हेटौंडेली कलाकार सुलेमान शंकर ईकुको कमेडी प्रस्तुत रहनुका साथै बेली डान्सर अस्मिता पुरीको धमकेदार नृत्य प्रस्तुत भएको थियो ।
महोत्सवमा भोलीमंगलबार गायिका अस्मिता अधिकारी, लोक गायक खेम सेन्चुरी, कमेडियन प्रभात लामाको प्रस्तुती रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवं संघका उपाध्यक्ष उज्ज्वल चौलागाईले जानकारी दिए ।
भोली महोत्सवमा चर्चित गायक प्रकाश सपुतको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । आइतबार महोत्सवमा गायिका रमेशराज भट्टराई, गायिका सहिमा श्रेष्ठ र स्याण्टअप कमेडियन सीता न्यौपानेले आफ्नो प्रस्तुती दिएका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनिभइरहेको छ ।
हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
महोत्सवलाई हेटौंडाको उत्पादन शिवम् सिमेन्टले प्रायोजन गरेको छ भने सह-प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मीग्रुप (हुण्डाई) रहेको महोत्सवका मूल संयोजक एवं संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रबद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह-आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,संस्कृति तथा पर्यटन मन्त्रालय र कृषितथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले जानकारी दिए ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी बिमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरातरहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणीज्य संघले जनाएको छ ।
दशौं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार,जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठोबाट कोदोको विस्कुट, निमकिन,पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह,भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोबाइलको फ्रि सर्भिससिङ,मोडुलर किचेन,टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु,बालबालिकाको लागि फनपार्क, स्थानीय एवं राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर,क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत बिक्रीवितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
११ माघबाट सुरु महोत्सव माघ २३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर अन्तरगत सन्चो हस्पिटलका फिजिसियन डाक्टरबाट सेवा प्रदान गरिएको थियो । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।











































