राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

लोकखबर
२०७९ माघ २३, सोमबार १९:२८

मकवानपुर । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रकी अर्याललाई राष्ट्रियसभाको आज (सोमबार) बसको बैठकले नेकपा उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।

उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुन सफल भइन् । सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेद्वार बनेकी अर्याललाई निर्विरोध हुन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सहयोग गरेको छ । कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्याल एक्लैको उम्मेदवारी परेको थियो ।

राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको २०७८ मै कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली थियो ।
अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । ६६ वर्षिया अर्याल २०६९ सालमा नेकपा एमाले छाडेर माओवादीमा लागेकी थिइन् । अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।
वि.सं.२०२६ सालमा अनेरास्ववियुमा आबद्ध भएयता उनी निरन्तर राजनीतिमा क्रियाशील हुँदै आइरहेकी हुन् ।

उनी नेकपा मसाल पृष्ठभूमिकी हुन् । २०४७ सालसम्म उनी महिला विकास अधिकृत बनेकी थिइन् । २०४८ सालमा त्यो पदबाट राजिनामा दिई उनी नेकपा एमालेको राजनीतिमा सक्रिय बन्न पुगेकी थिइन् । उनी एमालेमै रहँदा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत बनेकी थिइन् ।

अर्याल विस २०१३ साल असोज २० गते पर्साको जगरनाथपुर गाउँपालिका-५ मसिहानीमा जन्मिएकी हुन् । हाल उनको ठेगाना विरगञ्ज महानगरपालिका- २३, गण्डक चोक रहेको छ । उनी हाल काठमाडौंको बूढानीलकण्ठ-४, रुद्रेश्वरमा बस्दै आएकी छन् । उनका श्रीमान् डा. यमबहादुर थापा हुन् भने एक छोरा र एक छोरी रहेका छन् ।

राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य रहेका छन् । उनको महिला सशक्तिकरण तथा समावेशीकरण एवं कार्ययोजना, कम्युनिष्ट आन्दोलनमा महिलाहरुको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन) प्रकाशन भएका छन् भने आर्थिक विकासका विषयमा विभिन्न अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् ।

उपाध्यक्षमा निर्वाचित भएपश्चात उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने बताइन् ।
पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताइन् । राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने उनको सोच छ । जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उनले बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको