हेटौंडा व्यापार मेलामा १० करोड बराबरको कारोबार

लोकखबर
२०७९ माघ २३, सोमबार १९:५५

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आज सोमबार सकिएको छ । १३ दिनसम्म संचालित महोत्सवमा राखिएको विभिन्न वस्तुहरुको बिक्री वितरणमा करिब दश करोड बराबरको कारोबारको अनुमान गरिएको संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए ।
महोत्सव अवधिभर करिब एकलाख दर्शकहरुले अवलोकन गरेको अनुमान आयोजकको छ। महोत्सवको अन्तिम दिन दर्शकहरुको घुईचोँ लागेको थियो । अन्तिम दिनभएकाले सामान खरिद गर्नेहरुको भीड रहेको थियो । सोमबार करिब १० हजार भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको अनुमान रहेको कोेषाध्यक्ष अर्यालले बताए ।
महोत्सवका संयोजक एंव संघका अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको प्रमुख आतिथ्यतामा महोत्सव समापन गरिएको थियो ।
समापनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, भुवनलाल श्रेष्ठ, उत्तम शर्मा ढकाल, निर्वतमान अध्यक्ष कृष्ण कटुवाल, मकवानपुरका विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, हेटौंडा उपमहानगरपालिका प्रवक्ता एंव वडाध्यक्ष सविन न्यौपाने, वडा १० वडाध्यक्ष फुर्वा दोर्जे लामा, संघका सल्लाहकारहरु तथा विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता थियो ।
समापन कार्यक्रममा महोत्सवलाई प्रायोजक, सहप्रायोजक, महोत्सवलाई सफल बनाउने सबै सहयोगी हातहरु सम्पूर्ण संघसंस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
सोमबार युवा पुस्तामा चर्चित रहेकी गायिका रचना रिमालले आफ्नो सांगीतिक प्रस्तुती दिएकी थिइन् । उनले फोटो फिरेममा, उनको प्रिती पहिले होकी मेरो प्रिती पहिले,सम्झिनी पानी छम्किनीलगायतका चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो सांगीतिक प्रस्तुती दिदैं दर्शक नचाएका थिए ।
महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको थियो भने सहप्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको थियो ।
मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका थिए भने महोत्सवको सहआयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताएका छन् ।
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको थियो ।
महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भएकोे संघका महासचिव दीपक उप्रेतीले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको