महाशिवरात्रि पर्व मनाइँदै
मकवानपुर । आज शनिबार मकवानपुर लगायत देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । मकवानपुरको विभिन्न क्षेत्रमा रहेका शिवालयमा यो पर्व मनाउँन दर्शनार्थीहरुको भीड लागेको छ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्रि मनाउँने गरिएको हो ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वासका आधारमा यो पर्व मानिदै आइएको हो ।
भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व जगत्को कल्याण गर्ने तत्वले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।











































