दृष्टिविहीन युवालाई उपमहानगरपालिकाबाट ल्यापटप सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले उच्च शिक्षा अध्ययनमा रहेका हेटौंडा–८ का दृष्टिविहीन एक युवालाई ल्यापटप सहयोग गरेको छ ।
हेटौंडा ५ को बालज्योति माध्यमिक विद्यालयमा रहेको दृष्टिविहीनहरुको बिद्यालयबाट एसइइ परिक्षा उर्तिण गरेका हेटौंडा ८ का कृष्ण बस्नेतलाई सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले ल्यापटप हस्तान्तरण गरेकी हुन् । उनको नियमित अध्ययनमा सहयोग पु¥याउनका लागि उपमहानगरले डेलको आइथ्री ल्यापटप दिएको हो ।
चितवनको झुवानी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत बस्नेतले ल्यापटप दिएकोमा उपमहानगरका प्रमुख लामालाई धन्यवाद दिए । अन्य पालिकहरुवाट पनि आफुसँग पढ्ने साथीहरुले इलोक्ट्रोनिक उपकरण पाएपछि आफुले पनि यहाँ ल्यापटप माग गरेको उनले बताए ।
नगर प्रमुख लामाले दृष्टिविहीन बस्नेतलाई आगामी शैक्षिकयात्राको शुभकामना दिइन् । उनले उपमहानगरले शैक्षिक सुधारसँगै गरिब र असहाय विद्यार्थीहरुका लागि शैक्षिक सहयोगका कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिइन् ।











































